एजेन्सी । स्टिभ स्मिथ र डेभिड वार्नरसहित अष्ट्रेलियाका १२ खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुवाती खेलहरु गुमाउने भएका छन् ।
इंग्ल्यान्ड भ्रमणमा निस्कने अष्ट्रेलियाका २१ सदस्सीय खेलाडी मध्ये १२ खेलाडीले आईपीएलको सुरुवाती खेल गुमाउने भएका हुन् ।
कोरोना भाईरससम्बन्धि कोभिड-१९ टेस्टिङ प्रोटोकल नियमको कारण उनीहरुले आईपीएलको सुरुवाती खेल गुमाउने छन् ।
आईपीएल अघि अष्ट्रेलियाका खेलाडी टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा निस्कने छन् ।
अष्ट्रेलियाले घरेलु टिमसँग सेप्टेम्बर ४ देखि १६ सम्ममा ३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको सिरिज सकिएको ३ दिनपछि आईपीएल युएईमा सुरु हुनेछ ।
कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
अष्ट्रेलियाका खेलाडी सिरिज लगत्तै युएई गएपनि १४ दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्तै कोरोना परिक्षण गर्नु पर्नेछ ।
आईपीएलको सुरुवाती खेल गुमाउने खेलाडीमा स्मिथ र वार्नरसहित कप्तान आरोन फिन्च, उपकप्तान पाट कुमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल मार्श, जोश फिलिपे, केन रिचार्डसन, एलेक्स केरी, मार्कुस स्टोनिस, जोस हाजलवुड र एन्ड्रयु टे रहेका छन् ।