एजेन्सी । अष्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अर्को महिना हुने पक्का भएको छ ।
इंग्ल्यान्डले अर्को महिना घरेलु मैदानमा अष्ट्रेलियासंग तीन टी–ट्वान्टी र तीन एक दिवसीय म्याच खेल्ने पक्का भएको हो ।
दुई देशबीचको खेल जुलाईमा हुने तय थियो । तर कोरोनाको महामारीका कारण तालिका हेरफेर भएको हो ।
टी–ट्वान्टी खेल साउथह्याम्टनमा सेप्टेम्बर ४, ६ र ८ तारिकमा हुनेछ ।
यस्तै, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सेप्टेम्बर ११, १३ र १६ मा एकदिवसीय खेल हुनेछ ।
त्यसअघि, इंग्ल्यान्डले अगष्ट २८ र २९ तथा सेप्टेम्बर १ मा पाकिस्तानसंग टी–ट्वान्टी खेल्दैछ ।
इंग्ल्यान्डको एक दिवसीय टिमले गत वर्ष विश्वकप जितेको थियो ।
यस्तै, साउथह्याम्टनमा भएको एकदिवसीय सिरिजमा आयरल्याण्डलाई २–१ ले पछि पार्दै इंग्ल्यान्डले पछिल्लो महिनाको अन्त्य गरेको थियो ।
‘दुई देशबीचको प्रतिस्पर्धा निकै उच्च रहने गर्छ । यस गर्मीमा पुरुषको अन्तराष्ट्रिय सत्र समापन गर्न यो प्रतियोगिता राम्रो तरिका हुन सक्छ ।’ इंग्ल्यान्ड र वेल्सका मुख्य कार्यकारी टाम हेरिसनले भने ।
अष्ट्रेलियाको टिम पर्थबाट अगष्ट २३ मा निस्कनेछ ।
अलराउण्डर ग्लेन म्यासवेललाई समावेश गर्दै अष्ट्रेलियाले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।