एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सका फिल्डिङ प्रशिक्षक दिशान्त याग्निकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
राजस्थानका पूर्व विकेटकिपर ब्याट्सम्यान समेत रहेका याग्निकले सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएका छन् ।
'मलाई कोरोना पोजेटिभ भएको छ । कम्तिमा १० दिनपछि मसँग सम्पर्कमा रहनु भएकाले परिक्षण गराउनु होला । म अहिले १४ दिनको क्वारेन्टिनमा छु,' उनले ट्वीट गरेका छन् ।
आईपीएल नजिकिदै गर्दा प्रशिक्षक याग्निकलाई कोरोना देखिएको हो ।
उनी राजस्थानको टिमसँग अर्को साता युएई जाने योजनामा रहेका थिए । ३७ वर्षीय याग्निकले राजस्थानका लागि २०११ देखि १५ सम्म खेलेका थिए ।
कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
भारत सरकारले भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई युएईमा प्रतियोगिता आयोजनाको लागि अनुमति समेत दिईसकेको छ ।