एजेन्सी । भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको मुख्य प्रायोजक अधिकारको लागि बोलपत्र आह्वान गरेको छ ।
बीसीसीआईले सोमबार एक विज्ञापन निकाल्दै यस सिजनको आईपीएलको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको हो ।
मुख्य प्रायोजक रहेको चिनियाँ मोबाइल कम्पनी भिभोले सम्झौता रद्द गरेपछि बीसीसीआईले नयाँ प्रायोजक खोजिरहेको छ ।
भारत र चीनबीच पछिल्लो समय चुलिएको सिमा विवादका कारण भिभो आईपीएलको मुख्य प्रायोजकबाट पछि हटेको थियो ।
यस अघि बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो । आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ ।
बीसीसीआईले अगस्ट १४ सम्म इच्छुक कम्पनीले आवेदन दिनु पर्ने जनाएको छ । यस्तै बीसीसीआईले कम्तिमा ३ सय करोड भारु भन्दा माथिको कारोबार हुने कम्पनीले मात्र निवेदन दिन आग्रह गरेको छ ।
बीसीसीआईले मुख्य प्रायोजक अधिकार अगस्ट १८ देखि डिसेम्बर ३१ सम्म रहने समेत जनाएको छ ।
कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ ।
आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
आईपीएल तीन शहरमा हुनेछ । दुबई, आबुधाबी र सारजाहमा प्रतियोगिता हुने बताईएको छ ।