एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि निकै उत्साहीत देखिन्छन् ।
सेप्टेम्बर १९ बाट यूएईमा आयोजना हुन गइरहेको प्रतियोगितामा कोहली पहिलो पटक आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा हुनेछन् ।
कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोर प्रतियोगिताको १२ औँ संस्करणसम्म तीन पटक फाईनल पुगेको छ । तर उपविजेतामै सिमित बनेको ईतिहास बेंग्लोरसंग छ ।
कोहलीले हालै सामाजिक संजाल ट्विटरमा एक भिडियो पोस्ट गरेका छन्, जहाँ उनी आफ्ना टिमका खेलाडीहरुसँग रमाइलो गरेको देखिन्छन् ।
उनले सो भिडियोको माथि लेखेका छन्, ‘हरेक चिजका लागि बफादार रहनुपर्छ, जे आउँदै छ, त्यसको पर्खाइ निकै कठिन भइरहेको छ ।’
गत अप्रिलमा कोहलीले बेंग्लोरका अर्का विष्फोटक ब्याट्सम्यान एबीडी भिलियर्ससँग कुराकानी गर्दै बेंग्लोर टिम कहिल्यै नछाड्ने र टिमलाई च्याम्पियन बनाउन सक्दो भुमिका खेल्ने बताएका थिए ।
उनले भनेका थिए, ‘म कहिल्यै पनि यो टोली छाड्ने बारे सोच्न पनि सक्दिँन । जहिलेसम्म आइपीएल खेल्छु, तबसम्म बेंग्लोरबाट नै खेल्नेछु । हामीलाई थाहा छ, हामी प्रतियोगिता जित्न चाहन्छौं ।’
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको यस सिजन यूएईका तीन ठाउँ दुबई, अबुधाबी र सारजहामा आयोजना गर्न गईरहेको छ । फाइनल नोभेम्बर १० मा हुनेछ ।
प्रशिक्षण सुरु
आईपीएल २०२० का लागि कोहलीले प्रशिक्षण सुरु गरिसकेका छन् । उनले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो प्रशिक्षणको भिडियो सार्वजनिक गरेका छन् ।
सो भिडियोमा कोहली ‘ट्रेडमिल’मा दौडिरहेको देख्न सकिन्छ । यसले पनि देखाउँछ, उनी आईपीएलका लागि तयार छन् ।