एजेन्सी । बाबा रामदेवको पतंजली आयुर्वेदले इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजनका लागि चासो देखाएको छ ।
इकोनोमिक्स टाइम्सले यस वर्षको आईपीएलमा मुख्य प्रायोजक बन्न पतंजलीले गृहकार्य सुरु गरेको जनाएको छ ।
'हामी यस वर्षको आईपीएलमा मुख्य प्रायोजन बन्ने विचार गरिरहेका छौँ,' पतंजलीका प्रवक्ता एसके तिजरावालाले भने, 'हामी पतंजलीलाई ग्लोबल मार्केटिङ प्लेटफर्म दिन चाहन्छौं ।'
पतंजली भारतमा निकै लोकप्रिय रहेको छ । पतंजलीले आयुर्वेद औषधि र खाद्य पदार्थहरु उत्पादन गर्दै आईरहेको छ ।
आईपीएलको मुख्य प्रायोजक चिनियाँ मोबाइल कम्पनी भिभोले प्रायोजन सम्झौता रद्द गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले नयाँ प्रायोजक खोजिरहेको छ ।
भारत र चीनबीच पछिल्लो समय चुलिएको सिमा विवादका कारण भिभो आईपीएलको मुख्य प्रायोजकबाट पछि हटेको थियो ।
यस अघि बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो । आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ ।
यस वर्षको आईपीएल युएईमा आयोजना हुनेछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।