एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दसानायके अमेरिकाको माइनर लिगमा न्यु जर्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
अमेरिकाको पूर्व प्रशिक्षक समेत रहेका पुबुदुले माइनर लिग क्रिकेटमा न्यु जर्सीलाई प्रशिक्षण दिने इमर्जिङ क्रिकेटले जनाएको छ ।
पुबुदु पछिल्लो १ वर्षबाट कुनै पनि राष्ट्रको प्रशिक्षकको भूमिकामा रहेका छैनन् । अन्तिम पटक उनले सन् २०१९ को जुलाईमा अमेरिकाको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए ।
पुबुदु एसोसियट राष्ट्रका सर्वाधिक सफल प्रशिक्षकको रुपमा स्थापित छन् । उनले क्यानाडालाई सन् २०११ को विश्वकप, नेपाललाई सन् २०१४ को टी-ट्वान्टी विश्वकप पुर्याएका थिए भने अमेरिकालाई डिभिजन ४ बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका दिए ।
श्रीलंकन मुलका क्यानेडीयन प्रशिक्षक पुबुदु नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
रोय लुक डायसले टिम छाडेपछि पुबुदु सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक बनेका थिए । पुबुदुले सन् २०११ बाट सन् २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।
यस्तै नेपालले विश्व क्रिकेट लिग डिभिजन-४ र डिभिजन-३ को उपाधि जित्दै डिभिजन २ को यात्रा गर्दा पुबुदु मुख्य प्रशिक्षक रहेका थिए ।
नेपाल छाडेपछि भने पुबुदु अमेरिकाको मुख्य प्रशिक्षक भएका थिए ।
हालै पुबुदु नेपालको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका थिए । लिगको लागि नेपाल आएका पुबुदु कोरोना माहामारीको कारण लिग स्थगित भएपछी स्वदेश फर्किएका थिए ।