एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले अगस्ट तेस्रो साताबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेसँगै दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।
दिल्लीबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल खेल्ने गर्छन् ।
दिल्लीका एक पदाधिकारीले क्याम्पको मुख्य उदेश्य खेलाडीलाई एक जुट गराउने र कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीको लय फर्काउने रहेको बताए ।
यद्दपी, उनले आफुहरु भारतीय क्रिकेट नियन्त्रण बोर्डको निर्णय कुरिरहेको बताए ।
'भारतीय क्रिकेट बोर्डले मितिबारे बताएका छन् । हामी पुरा डिटेल कुर्दै छौँ । त्यसको निर्णय बोर्डले लिएपछि अन्तिम कल प्राप्त हुनेछ,' दिल्लीका एक अफिसियलले भने, 'हाल हामी अगस्ट १५ देखि सुरु गर्ने तयारीमा छौं । तर, गभर्नीङ बडीको निर्णयमा भर पर्छ । टिम मालिकले बोर्डबाट जवाफ पाउने वित्तिकै हामी मैदानमा उत्रने छौं ।'
विदेशी खेलाडी भने सिधै युएई आउने दिल्लीले जनाएको छ ।
'विदेशी खेलाडी युएई आउने छन् । हामीले समेत त्यसको प्रक्रिया बनाउनु पर्नेछ । बोर्डको रोडम्याप र हाम्रो प्रक्रिया मिलाएर अघि बढ्नु पर्छ । हामी दिल्लीमा नै युएई प्रस्थान गर्नु अघि कम्तिमा छोटो क्याम्प राख्ने कोसिसमा छौं,' उनले थपे ।
उनले थुप्रै भारतीय खेलाडी आफ्नो घरमा लामो समय देखि अड्किएको र क्याम्पले खेलमा फर्किन केही सहयोग पुग्ने बताए ।