एजेन्सी । अष्ट्रेलियामा यस वर्ष तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट सरेसँगै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्ने निर्णय गर्यो ।
विश्वकप सरेपछि बीसीसीआईले त्यस समय कोरोना भाईरसको कारण स्थगित आईपीएल गर्ने निर्णय गरेको हो । तर, आईपीएलको १३ औं संस्करण भारतमा नभई युएईमा हुनेछ ।
कोरोनाको कारण भारतीय क्रिकेटरहरु पछिल्लो ४ महिनाबाट मैदान बाहिर रहँदै आएका छन् । तर, उनीहरु सेप्टेम्बर १९ बाट मैदान फर्कने तरखरमा रहेका छन् ।
मैदान फर्किएपछि भने भारतीय खेलाडीहरु निकै व्यस्त रहने भएका छन् । भारतीय खेलाडीहरु करिब १ सय ५० दिन परिवारबाट टाढा रहने भएका छन् ।
बीसीसीआईको योजना अनुसार युएई प्रस्थान गर्नु अघि खेलाडीहरुले अगस्टबाट अहमेदाबाद अभ्यास गर्ने छन् । यद्दपी क्याम्पको मिति तय नभएपनि अगस्टको मध्यबाट क्याम्प सुरु गर्ने बताइएको छ ।
आईपीएलका गभर्नीङ काउन्सिलका अध्यक्ष ब्रिजेस पटेलले भारतीय खेलाडीहरु युएईबाट अष्ट्रेलिया जाने बताएका छन् । आईपीएल लगत्तै भारतले अष्ट्रेलियासँग सिरिज खेल्दैछ ।
आईपीएल फाइनल नखेल्ने खेलाडी समेत युएईमा बस्नु पर्नेछ । खेलाडीको सुरक्षाको लागि उनीहरुलाई घर नपठाउने निर्णय बीसीसीआईले गरेको हो । आईपीएल लगत्तै खेलाडीहरु अष्ट्रेलियाका लागि प्रस्थान गर्ने छन् ।
भारतीय क्रिकेट तालिका अनुसार अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट डिसेम्बर ३ देखी सुरु हुनेछ । घरेलु टोलिसँगको टेस्ट जनवरी ७ सम्म चल्नेछ ।
यस्तै दुई टिमबीच एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जनवरी १२ बाट सुरु भएर १७ जनवरीमा सकिने छ ।
यदि भारतीय टिम अष्ट्रेलियामा नोभेम्बर १२ मा पुग्यो भने उनीहरुको पुरा बसाई ६८ दिनको हुनेछ । यसरी हेर्दा भारतीय टिमका खेलाडीले १ सय ५० दिनसम्म परिवारबाट टाढा हुने छन् ।