एजेन्सी । घरेलु टोलि इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज जितेको छ ।
म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इन्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।
ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा अलआउट भयो ।
इंग्ल्यान्डका बलर चम्किएपछि वेष्ट इन्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जेर्मिने ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले यस खेलसँगै करियरको ५०० टेस्ट विकेट समेत पुरा गरेका छन् ।
ब्रोड यो उपलब्धि हासिल गर्ने सातौं बलर हुन् । उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेटको कोसेढुंगा पार गरेका हुन् ।
उनी यस उपलब्धि हात पार्ने इंग्ल्यान्डका दोस्रो बलर हुन् । यसअघि जेम्स एन्डरसनले यस उपलब्धि हात पारेका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।
पहिलो इनिङ्समा वेष्ट इन्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।
सिरिज अन्तर्गत पहिलो टेस्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी भएको थियो ।
तर, दोस्रो टेस्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।