एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आयोजनाका लागि युएईको क्रिकेट बोर्डलाई पत्र पठाएको छ ।
इमिरेट्स क्रिकेट बोर्ड ( इसीबी) ले १३ औं संस्करणको प्रतियोगिता आयोजनाका लागि बीसीसीआईले पत्र पठाएको पुस्टि गरेको छ ।
इसीबीका महासचिव मुबशशिर उश्मानीले आफ्नो देशमा आईपीएल आयोजना गर्नका लागि अनुमति दिन बीसीसीआईले पत्र पठाएको बताए ।
'हामीले आधिकारिक पत्र प्राप्त गरिसकेका छौं र अब भारत सरकारको निर्णय पर्खाइनेमा छौँ त्यसपछि अन्तिम सम्झौता हुनेछ,' महासचिव उश्मानीले भने ।
कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।
आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्म हुने बीसीसीआईले बताईसकेको छ ।
एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो । यस पटक भने पुरा सिजन युएईमा हुनेछ ।
यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो ।
त्यसपछि कोरोना भाईरसको महामारीको कारण १८ दिन स्थगित गर्दै अप्रिल १५ बाट प्रतियोगिता सुरु गर्ने मिति तय भएको थियो ।