काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले यस वर्षको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट गुमाउन सक्ने भएका छन् ।
कोरोना भाईरसको महामारीको कारण अधिकांस राष्ट्रले हवाई उडान बन्द गरेको कारण सन्दीपको सीपीएल खेल्ने सम्भावना न्यून भएको हो ।
यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ ।
तर, प्रतियोगिता नजिकिँदै गर्दा सन्दीपले भने ट्रीनिडाड एन्ड टोबेगो पुग्न चार्टर्ड गरिएको हवाईजहाजको टिकट पाउँन सकेका छैन् । यस्तै फ्लाइट ट्रान्जिटको समस्या समेत देखिएको छ ।
'सन्दीपले सीपिएल खेल्ने सम्भावना ५०-५० छ । फ्लाइट नै पाईदैन । पाईएकोमा ट्रान्जिट लामो छ,' सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले भने, '१०-१२ घण्टा ट्रान्जिट पारेर जाँदा स्वास्थ्यलाई समस्या पर्छ । सकेसम्म छोटो र सहज उडान पाए मात्र सन्दीप जान्छन् ।'
नेपालमा समेत भदौं १ गतेसम्म हवाई उडान बन्द हुनेछ । चार्टर्ड गरिएको हवाईजहाजले मात्र अहिले सेवा दिईरहेको छ ।
तर, प्रतियोगिताको पुरा सिजन खेल्न सन्दीप यस्तै हप्ता त्यसतर्फ प्रस्थान गरिसक्नु पर्नेछ । आयोजक स्थल पुगेपछि खेलाडीले अनिवार्य रुपमा क्वारेन्टिन बस्नु पर्ने हुन्छ ।
जसको लागि खेलाडीहरु कम्तिमा अगष्ट १ सम्म त्यहाँ पुग्नु पर्ने हुन्छ । त्यसभन्दा ढिलो आउने खेलाडीलाई टिमले क्याम्पमा समावेश गर्ने छैनन् ।
'सन्दीप आजभोलीमा निस्की सक्नु पर्ने हो । फ्लाइट पाइएन अब केहि दिन ढिलो आउनु पर्ने भयो भनेर आयोजकलाई एक दुईदिनको समय माग गरेका छौं,' रमनले भने, 'उताबाट केहि प्रतिक्रिया आएको छैन । भोली बेलुकासम्म सन्दीपले सीपीएल खेल्ने नखेल्ने निर्णय नै हुन्छ होला ।'
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।
तर, सुरक्षित उडान नभए सन्दीपले टिमसँगको सम्झौता रद्द गर्ने छन् ।
'यसपटक आयोजक विदेशी खेलाडी भन्दा आफ्नै खेलाडीले लिग संचालन गर्ने लक्ष्यमा छन् । आउन सक्ने विदेशी खेलाडीलाई खेलाउने नत्र सम्झौता रद्द गर्छन् । कतिपय खेलाडीको त रद्द नै गरिसके । सहज र सुरक्षित उडान पाए सन्दीप जान्छन् नत्र सम्झौता रद्द गर्छन्,' रमनले थपे ।