एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) यस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।
गत मार्चमा तय भएपनि कोरोना भाईरसको कारण स्थगित १३ औं संस्करणको आईपीएल युएईमा गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्म हुने बताईएको छ ।
कोरोनाको महामारीबीच प्रतियोगिता आयोजना हुने पक्का भएपछि खेलाडीहरु आईपीएल खेल्न आतुर देखिएका छन् ।
तर, विदेशी खेलाडीहरुले प्रतियोगिता खेल्न पाउने नपाउनेबारे भने आफ्नो राष्ट्रको क्रिकेट बोर्डको निर्णयमा भर पर्नेछ ।
दक्षिण अफ्रिका र न्युजिल्याण्डका क्रिकेट बोर्डले खेलाडीलाई आईपीएलको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने घोषणा गरिसकेको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले मिति सार्वजनिक गरेसँगै क्रिकेट दक्षिण अफ्रिका र न्युजिल्याण्ड क्रिकेट बोर्डले खेलाडीलाई एनओसी दिने बताएका हुन् ।
'आईपीएल खेल्न जाने खेलाडीलाई एनओसी दिने छौं । खेल्न जाने नजाने हामी खेलाडीको हातमा छोड्ने छौं,' न्युजिल्याण्ड क्रिकेट बोर्डका प्रवक्ता रिचार्ड बोकले भने ।
आईपीएलमा न्युजिल्याण्डका ६ खेलाडी फरक फरक टिममा आबद्द छन् ।
यस्तै दक्षिण अफ्रिका क्रिकेट बोर्डका मिडिया म्यानेजर कोकेट्सो गाओफेतोजले समेत खेलाडीलाई एनओसी दिने प्रष्ट पारे । दक्षिण अफ्रिकाका १० खेलाडी आईपीएलमा अनुबन्धित छन् ।
तर, क्रिकेट अष्ट्रेलियाले भने आफ्नो खेलाडीलाई एनओसी दिनेमा शंका देखिएको छ । रिपोर्टका अनुसार क्रिकेट अष्ट्रेलिया नाम नबताउने सर्तमा एक अधिकारीले आईपीएल खेल्न खेलाडीलाई एनओसी दिने नदिने भन्ने बारे विचार गरिने बताएका छन् ।
'प्रतियोगिता पक्का होस् । क्रिकेट अष्ट्रेलियाले अनि बल्ल खेलाडीलाई एनओसी दिने नदिनेमा विचार गर्नेछ,' ती अधिकारीले भने ।
आईपीएलमा अष्ट्रेलियाका १४ खेलाडी अनुबन्धन भएका छन् ।