काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत सोमबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि यसै साताभित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
क्यानको कार्यसम्पादन कमिटीको बैठकले प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापक खुल्ला छनोटबाट नियुक्ति गर्ने बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो । तर, क्यानले औपचारिक रुपमा दरखास्त खुलाएको छैन ।
क्यानले दरखास्त खुलाएपछि योग्य व्यक्तिले विभिन्न पदका लागि आवेदन दिन पाउने छन् । थुप्रै व्यक्तिले आवेदन दिने अनुमान समेत गरिएको छ ।
यस्तोमा लामो समयबाट क्रिकेट टिमको व्यवस्थापकको रुपमा काम गर्दै आईरहेका जोसेफ गुरुङले पनि व्यवस्थापकका लागि आवेदन दिने तयारी गरेका छन् ।
फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पीपीएल) र महिलाको वुमन्स च्याम्पियन्स (डब्लुसीएल) लिगको टिम चितवन राइनोजमा व्यवस्थापकको रुपमा काम गरिसकेका गुरुङले व्यवस्थापकका लागि आवेदन दिने बताएका छन् ।
'क्यानले आह्वान गरेको एक पदमा फाराम भर्ने तयारीमा छु । दुई लिगमा काम गरेको अनुभव छ । नेपाली टिमसँग काम गर्न पनि सक्छु भन्नेछ,' गुरुङले खेलपाटीसँग भने, 'तर हामी जस्तो नयाँलाई मौका पाउँन सकिन्छ भन्ने आशा त छैन । तर, मौका जुर्यो भने म यसका लागि तयार छु । '
डब्लुसीएलको पहिलो र पीपीएलको दोस्रो संस्करणमा चितवन राइनोज टिममा गुरुङले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।
आफुले टिमको प्रशिक्षक र खेलाडीलाई नजिकबाट चिनेको हुँदा टोलिले आफुबाट फाइदा लिन सक्ने गुरुङ बताउँछन् ।
राष्ट्रिय टिमको म्यानेजर जस्तो पदमा क्रिकेटलाई नजिकबाट चिनेको पात्र नै त्यसमा छानिए राम्रो हुने उनको तर्क छ ।
`खेललाई नजिकैबाट चिनेको मानिस आए राम्रो हुन्छ, मैले नजिकबाट चिनेको छु जस्तो लाग्छ । खेलाडीसँग झनै नजिकको सम्बन्ध छ, यसले टोलिलाई फाइदा पक्कै पनि हुन्छ,´ उनले भने ।