एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी गरिएको छ ।
यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु भएर नोभेम्बर ८ मा फाईनल खेलाउने तयारी गरिएको हो ।
एसिया कप र टी–२० विश्वकप यस वर्ष रद्ध भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
आईपीएलका फ्रेन्चाईज टिमलाई यसबारे जानकारी दिईएको छ । केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ ।
यसअघि बीसीसीआईका एक अधिकारीले बोर्डका सदस्यहरु यूएईको एयरलाईन्स इमिरेट्स र ईतिहादसंग सम्पर्कमा रहेको बताएका थिए ।
बोर्डले अगष्टको बिषयमा जानकारी माग गरेको छ । फ्रेन्चाईज टिमलाई अगष्टमा अन्तिममा यूएई लैजाने तयारी गरिएको छ ।
बीसीसीआईका अधिकारीका अनुसार बोर्डसंग सम्बन्धित टिमले यूएईमा इमिरेट्स, ईतिहाद जस्ता एयरलाईन्ससंग सम्पर्क गरेर विमान सेवा सुरु गर्ने बिषयमा छलफल गरेको छ ।
उसले भारतको दिल्ली, मुम्बई र कोलकत्ता जस्ता शहरमा विमान सेवा सुरु गर्ने बिषयमा एयरलाईन्सको योजनामा छलफल गरिरहेका छन् ।
आईपीएलको गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले एक अन्तरवार्तामा यस बर्षको आईपीएल यूएईमा आयोजना गरिने बताएका थिए ।
भारतमा बढ्दो कोरोनाको संक्रमणका लागि यस निर्णय गरिएको बताईएको छ । अर्को हप्ता आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा आईपीएलको तालिका र थप आवश्यक निर्णय लिईने बताईएको छ ।