एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेल्ने पक्का भएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले अन्तिम टेष्टका लागि घोषणा गरेको १४ सदस्सीय टिममा आर्चर परेका छन् ।
यस अघि कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् ।
वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट सकिएपछि उनले जैविक सुरक्षाको नियम उलंघन गरेका थिए ।
आर्चर पहिलो टेष्ट सकिएपछि नियम उलंघन गर्दै घर गएका थिए । जसको कारण बोर्डले उनलाई दोस्रो खेलमा टिम बाहिर राख्दै जरिवाना समेत गरेको थियो ।
घरबाट फर्किएपछि आर्चर पाँच दिनको आईसोलेसनमा बसेका थिए । र, उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै अन्तिम खेलका लागि जेम्स एण्डरसन र मार्क वुडले समेत १४ सदस्सीय टिममा स्थान बनाएका छन् ।
इंग्ल्यान्डले शुक्रबारबाट ओल्ड ट्राफोर्डमा वेष्ट इन्डिजसँग तेस्रो टेष्ट खेल्दैछ ।
दुई टोलीबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । म्यान्चेस्टरको सिरिज दुई टोलीका लागि निर्णयक सिरिज हो ।