चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण केही समयमा काम रोकिए पनि अहिले निर्माण कार्य तिब्र गतिमा भईरहेको छ ।
कोरोनाको कारण गरिएको लकडाउनले सुरुवाती डेढ महिना ठप्प बनेको रंगशालाको निर्माण कार्य बैशाख २० बाट सावधानी अपनाएर पुन: सुरु गरिएको हो।
यद्दपी कोरोनाको कारण मैदानमा कामदारको अभाब भने देखिएको छ । लकडाउन अघि दैनिक ३ सय भन्दा बढी कामदारले काम गर्दै आएकोमा अहिले १ सय ५२ जनाले काम गरिरहेका छन् ।
हालसम्म रंगशालाको मुख्य मैदानको काम ८५ प्रतिशत सकिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का काउन्सेलर तथा क्युरेटर श्रीलंकाका बन्दुला वार्नापुराको पूर्ण निगरानीमा मैदान निर्माण भईरहेको छ ।
'मैदानको काम ८५ प्रतिशत सकियो अब १५ प्रतिशत बाँकी छ । अब पिचको माथिल्लो काम र दुबो रोप्ने काम बाँकी हो,' फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खेलपाटीसँग भने, 'वैशाखमा मैदानको काम पूर्ण रुपमा सक्ने योजना रहेपनि लकडाउनले पछि धकेलिएको हो ।'
मैदान वरपर पानी जम्मा गर्ने ड्रेनेज समेत पूर्ण रुपमा निर्माण भईसकेको छ । हाल रंगशालामा प्यारापिटको लागि पिल्लर ढलान गर्ने काम समेत भईरहेको छ ।
यस्तै मुख्य रंगशाला नजिकै रहेको नमुना क्रिकेट मैदान पूर्ण रुपमा तयार भएको छ । लकडाउन अघि दुबो रोप्ने काम बाँकी रहेको मैदानमा समेत विभिन्न च्यारिटी खेल हुँदै आएको थियो ।
नमुना मैदान पूर्ण रुपमा तयार भएपछी अब कुनै पनि आयोजकले आवश्यक प्रक्रिया पुरा गरेर प्रतियोगिता खेलाउन पाउने अध्क्षय कट्टेलले जानकारी गराए ।
'नमुना मैदानमा अब नेपाल क्रिकेट संघ क्यानले समेत राष्ट्रिय प्रतियोगिता खेलाउन सक्छन,' कट्टेलले थपे, 'यदि कीर्तिपुरको मैदानमा खेलाउन सकिएन भने यहाँ खेलाउन राष्ट्रिय प्रतियोगिता खेलाउँदा हुन्छ । अन्य आयोजकले समेत यहाँ खेलाउन पाउँछन् ।'