प्रदेश सरकारको पुरस्कारमा प्रशिक्षक असन्तुष्ट
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल प्रदेश नम्बर १ का खेलाडीलाई प्रदेश सरकारले बुधबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गर्याे ।
साग समापन लगत्तै आफ्ना प्रदेशका विजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारले ६ महिनापछि खेलाडीलाई सम्मान गरेको हो ।
प्रदेश एकबाट ८८ खेलाडीले विभिन्न बिधामा पुरस्कार जितेका थिए । बुधबार सरकारी कार्यलयमा २५ खेलाडीको उपस्थितिमा पुरस्कार बितरण गरिएको थियो ।
प्रदेश सरकारले खेलाडीलाई मात्रै पुरस्कार वितरण गर्दा सागका पदक विजेता प्रशिक्षक भने रुष्ट देखिएका छन् । सागका पदकधारी प्रशिक्षकले प्रदेश सरकारसँग असन्तुष्टि ब्यक्त गर्दै प्रादेशिक सरकारले निरुत्साहित बनाएको गुनासो गरेका छन् ।
बुधबार खेलाडीले सम्मान पाएलगत्तै महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले सामाजिक सञ्जालमा प्रदेश नम्बर एक सरकार र मुख्यमन्त्री शेरधन राँईसँग असन्तुष्टि जनाए । उनले हरेक खेलको सफलतामा खेलाडीसँगै प्रशिक्षक र ब्यवस्थापकको पनि भुमिका महत्वपुर्ण हुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
‘एउटा जिज्ञासा प्रशिक्षक अनि ब्यबस्थापकको भुमिका के ? यदि भुमिका छैन भने भन्नुपर्यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस या ब्यबस्थापन सबैको भुमिका महत्वपुर्ण हुन्छ ।’ खड्काले भने ।
‘सबैले स–सम्मान आफ्नो मुल्यांकन होस् भनेर काम गरेका हुन्छन । यसमा मुख्यमन्त्री ज्यूले के भन्न चाहनु हुन्छ या मुख्य मन्त्रीज्यूलाई उहाँहरुको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभएको हो कि भन्ने मलाई लागेको जिज्ञासा, म गलत हुन सक्छु तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस या ब्यबस्थापन सबै सम्मानका भोका हुन्छन त्यसैले यसतर्फ मुख्यमन्त्री ज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ।
साग समापन लगत्तै प्रदेश सरकारले स्वर्ण विजेतालाई ३, रजत विजेतालाई २ र कास्य पदक विजेतालाई १ लाख दिने निर्णय गरेको थियो । यस्तै सरकारले टिम स्पर्धातर्फ विजेताका खेलाडीलाई नगद सहित पुरस्कृत गरेको छ । प्रदेश सरकारले बुधबारनै विजेता खेलाडीको खातामा रकम राखिदिएको छ ।
कराँतेमा नेपाललाई १० स्वर्ण पदक जिताएका प्रशिक्षक कुशल श्रेष्ठले समते आफ्नै प्रदेश सरकारले आफुलाई निरुत्साहित बनाएको बताए ।
‘पुरस्कारनै दिनुपर्छ भन्ने छैन । सम्झिए पनि हुन्छ । तर सबैलाई पुुरस्कार दिँदा प्रशिक्षकहरुलाई निरुत्साहित गराएको जस्तो देखियो ।’ खेलपाटीसँग बोल्दै प्रशिक्षक श्रेष्ठले भने ।
साग खेलकुदको ईतिहासमा नेपालले ५१ स्वर्ण जित्दा कराँतेले १० स्वर्ण, ४ रजत र ५ कास्य जितेको थियो ।
प्रशिक्षक श्रेष्ठले काम गर्ने मान्छेलाई सरकारलेनै निरुत्साहित गर्दा अगाडीको दिनमा हौसला नमिल्ने बताउँछन् ।
‘काम गर्ने मान्छेलाई यस्तो गरेपछि कसरी काम गर्ने ? खेलमा खेलाडीको जति मेहनत हुन्छ त्यो भन्दा बढि प्रशिक्षकको पनि हुन्छ । सायद खेलकुदलाई नबुझेर पनि यस्तो भएको होला ।’ धनकुटा निवासी श्रेष्ठले थपे ।
खेलापटीसँग बोल्दै फुटबल प्रशिक्षक खड्काले एउटा टिम बन्नका लागि खेलाडी, प्रशिक्षक, ब्यवस्थापक सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए ।
‘एउटा टिम बन्न सबैको आ–आफ्नो भुमिका हुन्छ । यसरी सम्मान गर्दा भोली प्रशिक्षकले कुन आत्मसम्मानले काम गर्ने । ब्यवस्थापक, फिजियोले कुन सोचले काम गर्ने । रिजल्ट राम्रो ल्याउ, टिम राम्रो बनाउँ । प्रदर्शन राम्रो होस् । पदक जितौ भनेर काम गरिन्छ । त्यो बापत हामीले पाउने के ?’ हाल एन्फामा महिला फुटबल विभागको प्रमुख रहेका खड्काले भने ।
यता, प्रदेश सरकाले भने बजेट अभावका कारण प्रशिक्षकलाई पुरस्कार दिन नपाएको बताएको छ । प्रदेश १ का खेलकुद विभाग प्रमुख कोमल खड्काले सुरुवातमा प्रशिक्षकलाई दिने निर्णय भएपनि बजेट अभावका कारण यस आर्थिक बर्षमा नदिएको बताए ।
‘सुरुवातमा दिने कुरा थियो । हालको लागि बजेट पनि अपुग भयो ।’ उनले भने ।
खेलकुद विभाग प्रमुख खड्काले प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट पुरस्कारकालागि छुट्टाएको उल्लेख गर्दै आगामी बर्षको बजेटमा प्रशिक्षकका लागि छुट्याउने बताए ।
‘यस पटक ८० लाख बजेट थियो । तर यसमा अपुग भएपछि प्रशिक्षकको नाम काटिएको हो । आगामी बजेटबाट बाँकी प्रशिक्षकलाई दिने निर्णय भएको छ । आउँदो बजेटका लागि बिचार गरेका छौं ।’ उनले थपे ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)