सिटीको फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे ।
न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे ।
खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २१ औं मिनेटमा महरेजले गोल गरेपछि सिटी पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।
जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २० अंकले पछि रहेको छ । लिभरपुलको ८९ अंक रहेको छ ।
४३ अंक जोडेको न्युकासल १३ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई १-० ले नै हराएको छ ।













