एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले सबैभन्दा पहिलो इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटलाई जोगाउनु पर्ने बताएका छन् ।
स्पोर्ट्सकिडासँग कुरा गर्दै गांगुलीले आईपीएल एक ठुलो प्रतियोगिता भएको र भारतीय क्रिकेटको परिचयको रुपमा रहेको कारण यसलाई जोगाउनु पर्ने बताएका हुन् ।
'यस समय हामीले पहिले आईपीएललाई जोगाउनु पर्छ । देश पहिलो हो तर आईपीएल एक शानदार प्रतियोगिता हो । यसले खेलकुदमा धेरै परिवर्तन ल्याएको छ,' गांगुलीले भने, 'इंग्ल्यान्ड ईपीएल छ । स्पेनमा ला लिगा छ । बीसीसीआईसँग आईपीएल छ ।'
कोरोना भाईरसको महामारीको कारण यस सिजनको आईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको छ । तर, बीसीसीआई यस सिजनको आईपीएल गराउने योजनामा रहेको छ ।
यस वर्ष अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप र पाकिस्तानमा तय भएको एसिया कप सरेमा भारतले बन्द रंगशालामा आईपीएल गराउने योजना भएको छ ।
यस्तै गांगुलीले आफ्ना खेलाडीलाई विदेशी लिग भन्दा पनि आईपीएलमा केन्द्रित हुन सुझाव दिएका छन् ।
बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन् ।
हालै भारतका भेट्रान स्पिनर प्रविन ताम्बे क्यारिबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् । सीपीएलको ड्राफ्टबाट ४८ वर्षे ताम्बेलाई ट्रिङआबो नाइट राइडर्सले अनुबन्ध गरेको छ ।
तर, ताम्बेलाई सीपीएल खेल्न बीसीसीआईको नो अब्जेक्सन लेटर आवश्यक हुन्छ ।
'हामीले केहि खेलाडीलाई अनुमति दिएका छौँ । युवराज सिंहले गत वर्ष केहि प्रतियोगिता खेले । यो हामीले छलफल गर्ने विषय हो,; पूर्व कप्तान समेत रहेका गांगुलीले भने, 'मैले सन्यासपछि आईपीएल खेलिरहेका थिए । मलाई अष्ट्रेलिया, इंग्ल्यान्ड र बंगलादेश खेल्न बोलाईयो तर मलाई अनुमति दिईएन ।'
यस्तै गांगुलीले आफुलाई आईपीएल सबैभन्दा मन पर्ने प्रतियोगिता भएको बताए ।