एजेन्सी । कोरोना भाईरसको महामारीले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट ठप्प रह्यो ।
तर, बुधबारबाट अन्तर्राष्ट्रिय क्रिकेट फर्कदैछ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा घरेलु टिम र वेष्ट इन्डिजबीचको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गर्दैछ ।
कोरोनाको कारण मार्चबाट रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि फर्कन लागेको हो । जुन, वेष्ट इन्डिजको सहासिक निर्णयले सम्भव भएको हो ।
यस अघि नै तय भएपनि दुई टिमबीचको तीन खेलको सिरिज अन्योलमा रहेको थियो । तर, कोरोनाले सर्वाधिक प्रभावित गरेको राष्ट्र भ्रमण गर्न वेष्ट इन्डिज राजी भएको थियो । इंग्ल्यान्डमा कोरोनाबाट करिब ४४ हजारको मृत्यु भईसकेको छ ।
इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको सिरिजसँगै क्रिकेट समर्थकले राहत महसुस गरेका छन् ।
एजेस बाउलमा इंग्ल्यान्ड र वेष्ट इन्डिज सेतो जर्सीमा मैदान उत्रदा धेरै फरकता पाईनेछ ।
यो टेष्ट नै हुनेछ । तर, हामी सबैले देखेको टेष्ट भने हुने छैन । कारण कोरोना करहसँगै क्रिकेटका केहि नियम समेत परिवर्तन गरिएको छ ।
बन्द रंगशाला -
दुई टोलीबीचको खेल बन्द रंगशाला अर्थात् दर्शकबिना हुनेछ । अन्य समय दर्शकले खचाखच हुने रंगशालामा सुन्य दर्शक हुनेछ । दर्शकले घरमै बसेर टेलिभिजनमा भने हेर्न पाउने छन् ।
कोरोनाको महामारीको कारण दर्शकलाई मैदान प्रवेशको अनुमति छैन । त्यहाँ कोरोना सर्ने सम्भावना हुने छैन । त्यसैले यस सिरिज जैविक रूपमा सुरक्षित हुनेछ ।
तर, दर्शकबिनाको खेल केहि खल्लो भने हुनेछ । वेष्ट इन्डिजका कप्तान जासन होल्डरले समेत समर्थकको तालीको गर्जन 'मिस' गर्ने बताए ।
थुक प्रयोगमा प्रतिबन्ध -
यस सिरिजमा खेलाडीले बल चम्काउन थुकको प्रयोग गर्न पाउने छैनन् । यस अघि खेलाडीहरूले बल चम्काउन थुक, र्याल तथा पसिनाको सहायता लिदै आएका छन् ।
तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले थुक प्रयोगलाई प्रतिबन्ध गरेको हो ।
यदि बलरले थुक प्रयोग गरेर बल चम्काउने प्रयास गरे पेनाल्टीको रुपमा ब्याटिङ टिमलाई ५ रन उपहार दिइने छ ।
यसअघि बलिङ टिमलाई हरेक इनिङ अघि दुई पटक चेतावनी दिइने छ । तेस्रो पटक समेत बलरले थुक प्रयोग गरे पेनाल्टीको ५ रन उपहार दिइने छ ।
घरेलु अम्पाएर -
अन्तर्राष्ट्रिय खेलमा यस अघि तथस्ट अम्पायर राख्नु पर्ने नियम रहेको थियो । तर, यस सिरिजमा घरेलु अम्पायर तथा म्याच रेफ्रीहरु राख्न पाईनेछ ।
कोरोनाको महामारी कायम रहदा वैदेशिक उडान ठप्प छ । जसको कारण अन्तर्राष्ट्रिय अम्पाएरको उपस्थिति नहुने भएपछि आईसीसीले घरेलु अम्पाएर राख्न पाउने नियम बनाएको थियो ।
टेष्ट क्रिकेटमा सन् २००२ पछि पहिलो पटक मैदानमा २ घरेलु अम्पाएर राख्न पाउने भएको हो ।
अन्य फरकता -
यस सिरिजमा पहिलेको भन्दा अन्य धेरै फरक पाउने छौं । जस्तै खेलाडीले मैदानमा सामाजिक दुरी कायम राख्ने देखि स्यानिटाइजर प्रयोग गरेको देख्न सकिनेछ ।
खेलाडीहरुले खेलपछी खाना खाने समयमा समेत स्कुले बच्चाले जस्तै आफ्नो आफ्नो कुर्सीमा बसेर लाइनबद्द रुपमा खाना खाने छन् ।
यस्तै तीन टेष्ट खेलको सिरिजमा दुवै राष्ट्रको जर्सीमा विश्वभर रंगभेदविरुद्धको आवाजलाई समर्थन जनाउने जर्सी लगाउने छन् ।
दुवै टिमको जर्सीमा ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अंकित देख्न सकिने छ ।
अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंगभेदी व्यवहारविरुद्धको आन्दोलन सुरु भएको थियो । जसमा खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।
खेल तालिका -
पहिलो टेष्ट : एजेस बाउल, साउथह्याम्प्टन, जुलाई ८-१२
दोस्रो टेष्ट : ओल्ड ट्राफोर्ड, म्यानचेस्टर, जुलाई १६-२०
तेस्रो टेष्ट : ओल्डट्राफोर्ड, म्यानचेस्टर, जुलाई २४-२८
इंग्ल्यान्ड टिम -
बेन स्टोक्स (कप्तान), जेम्स एण्डरसन, आर्चर जोफ्रा, डोमिनिक बेस, स्टुवार्ड बोर्ड, रोरी ब्रुन्स, जोस बट्लर, ज्याक क्रली, जोइ डेन्ली, ओली पेपे,डोम सिब्ली, क्रिस वाकोस् र मार्क उड ।
* नियमित कप्तान जोय रुटले पहिलो टेष्ट गुमाउने छन् ।
वेष्ट इन्डिज -
जासन होल्डर (कप्तान) ,शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच