लालना लिभरपुलका लिजेण्ड - क्लोप

एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मिडफिल्डर एडम लालना क्लबका लिजेण्ड खेलाडी भएको बताएका छन् ।
क्लोपले आफ्नो प्रशिक्षक जीवनमा भेटेका उत्कृष्ट र प्रभावशाली खेलाडी मध्ये लालना एक भएको बताउँदै उनी क्लबका लागि लिजेण्ड भएको बताएका हुन् ।
'मेरो प्रशिक्षण जीवनमा पाएको प्रभावशाली खेलाडी मध्ये लालना एक हो । उहाँ एक अविश्वसनीय व्यवसायिक खेलाडी हुन्,' क्लोपले भने ।
३२ वर्षीय लालनाले यस सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् । उनको सम्झौता जुन ३० बाट सकिएको थियो ।
तर, कोरोनाको महामारीको कारण लिग ढिला सकिने भएपछि क्लबसँग उनले छोटो सम्झौता गरेका थिए । सिजन सकिएपछि उनी फ्रि ट्रान्सफरमा क्लब छाड्ने छन् ।
'सबैलाई थाहा छ लालनाले क्लब छाड्दैछन् । उनीबारे मलाई सोध्नु भयो भने मैले धेरै कुरा मिस गर्नेछु । उनी अहिले पनि यहिँ छन्,' क्लोपले भने, 'उनको सफल भविष्यका लागि शुभकामना दिन्छु । मेरो नजरमा उनी पहिले नै यहाँको लिजेण्ड हुन् ।'
यस्तै क्लोपले आफु लिभरपुल आएपछि उनी टिमका महत्वपूर्ण सदस्य भएको समेत बताए ।
'जब म यहाँ आए उनी क्लबका महत्वपूर्ण सदस्य हुन् । भविष्यको लागि उनलाई शुभकामना दिन चाहन्छु,' क्लोपले थपे ।
इंग्ल्यान्डका मिडफिल्डर लालना सन् २०१४ मा लिभरपुल आएका थिए । उनले क्लबका लागि १ सय २८ खेलमा १८ गोल गरेका छन् ।
लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप लगायतका उपाधि जितेका छन् ।












