काठमाडौं । वेस्ट इन्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको ड्राफ्ट दुई हप्ता अघि नै सम्पन्न भईसकेको छ ।
तर, आधिकारिक रुपमा ड्राफ्टको नतिजा भने सार्वजनिक भएको छैन ।
ड्राफ्टको नतिजा सार्वजनिक नहुँदा नेपाली क्रिकेट समर्थकलाई भने एक कौतुहलताले सताएको छ ।
सन्दीप लामिछाने बिक्री भए कि हैनन् ? सन्दीपले कुन क्लबबाट खेल्छन् ? जस्ता प्रश्न क्रिकेट समर्थकको मनमा उब्जिएको छ ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।
लगातार तेस्रो पटक ड्राफ्टमा अटाएका सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
यसपटक सन्दीपले ड्राफ्टमा आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ) सूचीमा राखेका थिए । जुन सीपीएलमा सन्दीपले राखेको अहिलेसम्म कै महँगो मूल्य हो । त्यसैले पनि समर्थकका लागि महँगो मूल्यमा सन्दीप छनोट हुन्छन् कि हुँदैनन् भन्ने कौतुहलता छाएको छ ।
सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।
सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार यस पटकको सीपीएल सन्दीपले खेल्ने बताउँछन् । सन्दीपलाई यस पटक तीन टिमले अनुबन्ध गर्ने इच्छा देखाएको समेत सिवाकोटीले जानकारी दिए ।
'सीपीएल आयोजना भए त सन्दीपले खेल्ने छन्, त्यसमा कुनै शंका छैन । मात्र कुन टिमबाट खेल्ने भन्ने हो,' रमनले खेलपाटीसँग भने, 'सन्दीपलाई सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स, बार्बाडोस ट्राइडेन्ट्स र जमैका तालेवासले भित्र्याउन चाहेको थियो । तर, अफिसियल ड्राफ्ट नै अहिलेसम्म आएको छैन ।'
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता हुने नहुने निश्चित नभएकाले ड्राफ्ट सार्वजनिक नभएको रमनको भनाई छ ।
'महामारीको अवस्थामा आयोजकलाई प्रतियोगिता हुने नहुने भन्ने डर छ । त्यसैले ड्राफ्ट सार्वजनिक नगरिएको होला,' उनले थपे, 'प्रतियोगिता भए त सन्दीप खेल्छन् । हरेक दिन ड्राफ्ट सार्वजनिक गर्ने भन्ने गरेका छन् तर गरेका छैनन् । आज समेत ड्राफ्ट सार्वजनिक भएको थियो ।'
कोरोनाको महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भएको छैन ।
तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।