एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकप क्रिकेट सन् २०११ को फाईनल खेलमा शंका गर्नुपर्ने कुनै कारण नभएको बताएको छ ।
सन् २०११ को फाईनलमा खेलमा श्रीलंकालाई हराउँदै भारतले विश्वकप फाईनल जितेको थियो ।
आईसीसीले अनुसन्धान गर्न फाईनल खेलमा कुनै प्रमाण फेला नपरेको समेत बताएको हो ।
श्रीलंका प्रहरीको विशेष अनुसन्धान विभागले समेत शुक्रबारनै अनुसन्धानलाई बन्द गरेको छ । लगत्तै आईसीसीको धारणा सार्वजनीक भएको हो ।
श्रीलंकाली पूर्व खेलमन्त्री महिन्दानन्दा अलुथगमगेले फाईनल खेलमा श्रीलंकाका केही पक्षले फिक्सिङ गरेको आरोप लगाएका थिए । लगत्तै श्रीलंकाली प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अलुथगमगेको भनाई पुष्टि हुने कुनै प्रमाण फेला नपरेको बताएको छ ।
आईसीसीको भ्रष्टाचार निवारण ईकाई (एसीयू)का महाप्रबन्धक एलेक्स मार्शले भनेका छन्, ‘हामीसंग आईसीसी पुरुष क्रिकेट विश्वकप फाईनल २०११ मा आशंका गर्ने कुनै कारण छैन । आईसीसी ईन्टीग्रिटी ईकाईले विश्वकप फाईनल २०११ माथि लागेको आरोप अस्विकार गरेको छ ।’
‘यस समय हामीसंग यस आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण प्राप्त भएको छैन । जसले गर्दा आईसीसीको भ्रष्टाचार निवारण संहिताले अनुसन्धान सुरु गर्न आवश्यक देखिएको छैन ।’ उनले भनेका छन् ।
आईसीसी अधिकारी मार्शलले पूर्व श्रीलंकाली खेल मन्त्रीको दाबी झुटो भएको बताएका छन् । खेलमन्त्रीले फिक्सिङका आरोपमा आईसीसीलाई पत्र समेत पठाईएको बताएका थिए ।
‘श्रीलंकाका तत्कालिन खेलमन्त्रीद्धारा यस सम्बन्धमा आईसीसीमा पत्र पठाएको कुनै रेकर्ड छैन । सो समय आईसीसीमा कार्यरत वरिष्ठ कर्मचारीले यस कुनै पत्र प्राप्त नभएको बताएका छन् ।’ मार्शलले भनेका छन् ।