एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्धको टेष्ट सिरिजमा ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अंकित जर्सी लगाउने भएका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै सिरिजमा वेस्ट इन्डिजले जस्तै ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अंकित जर्सी लगाउने जनाएको हो ।
यसअघि वेस्ट इन्डिजले सिरिजमा ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अंकित जर्सी लगाउने बताईसकेको छ ।
जर्सीमा प्रयोग हुने लोगो अलिशा होसनाहद्वारा डिजाइन गरिएको थियो। त्यसको पार्टनर वाट्फोर्डका कप्तान ट्रोय डिनी हुन् ।
तीन टेष्ट खेलको सिरिजमा दुवै राष्ट्रको जर्सीमा विश्वभर रंगभेदविरुद्धको आवाजलाई समर्थन जनाउन यस्तो जर्सी लगाउने भएका हुन् ।
अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंगभेदी व्यवहारविरुद्धको आन्दोलन सुरु भएको थियो । जसमा खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।
'कालो समुदायप्रति एकजुट देखाउनु र समानता र न्यायका शीर्षकहरूमा अत्यावश्यक जागरूकता जगाउन महत्त्वपूर्ण छ,' इंग्ल्यान्डका कप्तान जोए रुटले विज्ञप्तिमा भनेका छन्, 'यस विषयमा इंग्ल्यान्डका खेलाडी तथा म्यानेजमेन्ट समहत छौँ । यसले अन्तर्राष्ट्रिय क्रिकेटको मञ्चको प्रयोग गरी जातीय पूर्वाग्रह उन्मूलन गर्ने उद्देश्यलाई पूर्ण रूपमा समर्थन गर्दछ ।'
इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्नेछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।
सिरिजका लागि वेस्ट इन्डिजका टिम इंग्ल्यान्ड आईपुगिसकेका छन् ।