एजेन्सी । सन् २०११ को विश्वकप क्रिकेटको फाइनल खेलमा म्याच फिक्सिङ भएको भन्दै श्रीलंकाले अनुसन्धान सुरु गरेको छ ।
श्रीलंकाको खेलकुद मन्त्रालयले बनाएको विशेष अनुसन्धान युनिट (एसआईयू) ले अनुसन्धान थालेको हो । अनुसन्धानको क्रममा तत्कालिन कप्तान कुमार संगाकाराको बयान लिईएको छ ।
संगाकाराले बिहीबार बिहान विशेष अनुसन्धान युनिटलाई बयान दिएको श्रीलंकन मिडियाले जनाएको छ ।
अनुसन्धानका क्रममा लिजेण्ड क्रिकेटर तथा तत्कालिन खेलाडी छनोटका प्रमुख अरभिन्दा डी सिल्भा र ओपनिङ ब्याट्सम्यान उपुल थरंगाको बयान समेत लिईएको छ ।
भारतमा भएको उक्त विश्वकपको फाइनलमा श्रीलंका पराजित भएको थियो । भारतले श्रीलंकालाई ६ विकेटले हराएर दोस्रो पटक विश्वकप उचालेको थियो ।
विश्वकप सकिएको झन्डै एक दशक पछि श्रीलंकाका पूर्व खेलकुद मन्त्री महिन्दानन्द अलुथगामाले फाइनलमा म्याच फिक्सिङ भएको आरोप लगाएपछि यस विषय चर्चामा आएको थियो ।
तर, महेला जयवर्दने र संगाकाराले आरोप अस्विकार गरेका थिए । उनीहरुले आरोप पुस्टि गर्न समेत चुनौती दिएका थिए ।
सन् २०११ को फाइनललाई लिएर विवाद आएको यो पहिलो पटक होइन । सन् २०१७ मा समेत श्रीलंकाका पूर्व कप्तान अर्जुना रानातुंगामाथि समेत आरोप लागेको थियो ।