जर्ज प्रिन्स सेनाको क्याप्टेनमा बढुवा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) पदमा बढुवा भएका छन् ।
त्रिभुवन आर्मी क्लबका स्ट्राइकर जर्ज प्रिन्स सोमबार क्याप्टेनमा बढुवा भएका हुन् । २५ वर्षीय जर्ज प्रिन्सले सोमबार २ नम्बर राजदल गण सुर्खेतबाट दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।
'जर्ज प्रिन्स सह सेनानीमा बढुवा भएका छन् । सोमबार दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्,' आर्मीका प्रशिक्षक चुन बहादुर थापाले भने ।
जर्ज प्रिन्स २०७२ सालमा नेपाली सेनामा भर्ना भएका थिए । सेनामा भर्ना भएपछि उनी आर्मी क्लबबाट फुटबल खेल्दै आएका थिए ।
सेनामा प्रवेश गर्नु अघि जर्ज प्रिन्सले फ्रेन्ड्स क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
काभ्रेमा जन्मिएका जर्ज प्रिन्स गत मंसिरमा सकेन्ड लेफ्टिनेन्टमा बढुवा भएका थिए ।
त्यसपछि जर्ज प्रिन्सले बंगलादेशमा ६ महिना ‘गनरी कोर्ष’ पुरा गरेका थिए ।
बंगलादेशबाट फर्किएपछि जर्ज प्रिन्सले सहिद स्मारक 'ए' डिभिजन लिग खेलेका थिए । यस सिजनको लिगमा आर्मी दोस्रो भएको थियो । १३ खेलमा उनले एक गोल गरेका थिए ।

जर्ज प्रिन्सले ग्योतोकु कोजी प्रशिक्षक हुँदा २०७४ मा डेब्यु गरेका थिए ।
एएफसी एसियन कप छनोट अन्तर्गत घरेलु मैदानमा भदौ २० गते ताजकिस्तानविरुद्धको खेलबाट उनले डेब्यु गरेका थिए ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ताजिकिस्तानसँग २-१ ले पराजित भएको खेलको ६३ औं मिनेटमा विशाल राईको स्थानमा उनी मैदान प्रवेश गरेका थिए ।
जर्ज प्रिन्सले राष्ट्रिय टिमबाट ३ खेल खेलेका छन् । विभागीय तालिमको कारण जर्ज प्रिन्सले राष्ट्रिय टिमबाट खेल्ने मौका कम पाएका हुन् ।
आक्रामक र फ्रिकिकमा माहिर फरवार्ड जर्ज प्रिन्स विश्वकप छनोट अन्तर्गत बाँकी होम खेलका लागि बन्द प्रशिक्षणमा परेका छन् ।
विश्वकपको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिमको तयारी जुलाई दोस्रो साताबाट गर्ने जनाएको छ ।












