एजेन्सी । घरेलु टिम अष्ट्रेलिया र जिम्बावेबीचको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण अगस्टमा तय भएको सिरिज स्थगित गरिएको हो ।
अष्ट्रेलिया क्रिकेटले मंगलबार जिम्बावे क्रिकेट बोर्डसँगको छलफलपछि सिरिज स्थगित गरिएको जनाएको छ ।
अष्ट्रेलियाले घरेलु मैदानमा जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने तय भएको थियो ।
यस्तै अष्ट्रेलियाले क्रिकेटले जिम्बावेसँगको छलफलपछि सिरिजको वैकल्पिक मिति निकाल्न प्रतिबद्ध भएको जनाएको छ ।
'सिरिज स्थगित हुँदा हामी निराश छौँ । तर, क्रिकेट अष्ट्रेलिया र क्रिकेट जिम्बावे सहमत छन् कि खेलाडी, खेल पदाधिकारी, स्वयंसेवक र हाम्रो प्रशंसकको हितमा यो सबैभन्दा व्यवहारिक र समझदार निर्णय हो,' अष्ट्रेलिया क्रिकेट प्रमुख कार्यकारी निक होक्लीले भनेका छन्, 'हामी जिम्बावे क्रिकेटसँग पुनः वैकल्पिक मितिमा काम गर्न प्रतिबद्द छौँ ।'
जिम्बावेका कार्यकारी निर्देशक गेभमोरो माकोनीले सिरिज अन्य समयमा गर्न तयार भएको बताए ।
'हामी अष्ट्रेलियाको सामना गर्न पाउँदा उत्साहित थियौं तर परिस्थितिलाई हेरेर यस भ्रमणलाई स्थगित गर्नु नै विकल्प थियो,' उनले भने ।