एजेन्सी । वेस्ट इन्डिजका कप्तान जासन होल्डरले खेलकुदमा रंगभेदी दुर्व्यवहारलाई गर्नेलाई म्याच फिक्सिङ र डोपिङमा परेका खेलाडीलाई जस्तै कारबाही गर्नु पर्ने बताएका छन् ।
घरेलु टिमसँगको टेष्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका कप्तान होल्डरले बीबीसीसँग कुरा गर्दै रंगभेदी व्यवहारलाई म्याच फिक्सिङ र डोपिङको रुपमा हेरिनु पर्ने बताएका हुन् ।
'मलाई लाग्दैन कि डोपिङ र म्याच फिक्सिङ भन्दा फरक अपराध रंगभेद हो,' होल्डरले बीबीसीसँग भने, 'यदि हामीले खेलकुदमा मुद्दाहरू उठाउछौँ भने हामीले सबैलाई समान व्यवहार गर्नुपर्दछ ।'
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार कुनै खेलाडीले तीन पटकसम्म मैदानमा जातीय र रंगभेदीय दुर्व्यवहार गरे उसलाई आजीवन प्रतिबन्ध हुन्छ ।
पहिलो पटक नियम उलंघन गर्दा ४ देखि ८ सस्पेन्सन अंक पाउने छन् । दोस्रो पटकमा एक टेष्ट वा दुई एक दिवसीय अन्तराष्ट्रिय वा टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्नेछ ।
आईसीसीले जातीय र रंगभेदीय मुद्दामा निकै कम खेलाडीलाई कारबाही गरेको छ ।
गत वर्ष पाकिस्तानी कप्तान सर्फराज अहमदले दक्षिण अफ्रिकाका खेलाडी एण्डिले फेलुख्वायोलाई जातीय र रंगभेदीय दुर्व्यवहार गर्दा आईसीसीले उनलाई ४ खेलको प्रतिबन्ध लगाएको थियो ।
'एन्टि-डोपिङ र म्याच फिक्सिङको प्रष्ट नियम रहेको छ । हाम्रो सिरिज सुरुहुनु अघि एन्टी रेसिजम नियम समेत लागु होस् भन्ने चाहना छ,' होल्डरले थपे, 'मेरो सन्देश यो हो कि यसमा थप शिक्षा हुनु जरुरी छ । म त अहिलेसम्म रंगभेदको शिकार भएको छैन तर सुनेको र पटक पटक देखेको छु ।'
पछिल्लो समय थुप्रै क्रिकेट खेलाडीहरुले रंगभेदविरुद्ध आवाज उठाउन थालेका छन् । धेरै खेलाडीले आफु यसको शिकार भएको बताएका छन् ।
अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंगभेदी व्यवहारविरुद्धको आन्दोलन सुरु भएको छ । जसमा खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।
हालै वेस्ट इन्डिजका अर्का खेलाडी ड्यारेन स्यामीले समेत आईपीएलमा सनराइजर्स हैदरावादका खेलाडीले आफुलाई कालु भनेर जिस्काउने गरेको बताएका थिए ।