एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान सुपर लिग (पीएसएल) नसार्ने बताएको छ ।
एसिया कप क्रिकेट आयोजनाका लागि भारतीय क्रिकेट बोर्डले पाकिस्तानलाई पीएसएल अर्को वर्ष सार्न सुझाब दिएको थियो ।
तर, पाकिस्तानले भारतको सुझाव अस्वीकार गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डका सिइओ वसीम खानले पीएसएल नसार्ने बताउँदै पाकिस्तान एसिया कप खेल्न तयार रहेको बताएका छन् ।
कोरोना भाईरसको कारण यस वर्ष आयोजना हुने एसिया कप अन्योलमा रहेको छ । पाकिस्तानमा तय भएको एसिया कप सेप्टेम्बर वा अक्टोबरमा आयोजना गर्ने तयारी गरिएको छ ।
'एसिया कप खेल्न सकिन्छ । इङ्ल्यान्ड भ्रमणबाट पाकिस्तान टिम सेप्टेम्बर २ मा फर्किन्छ अनि एसिया कप सेप्टेम्बर वा अक्टोबरमा खेल्न सकिन्छ,' खानले भने ।
एसिया कप समयमा नहुने सम्भावना बढेपछि भारतले आफ्नो समय नमिल्ने भन्दै पीएसएल सार्न सुझाब दिएको थियो ।
'एसिया कप तोकिएको समय तथा यस वर्ष हुने सम्भावना कम छ । तर अर्को वर्ष पाकिस्तानको समय मिलेको छ भारतको समय खाली छैन । त्यसैले पाकिस्तानले पीएसएल सारेर अर्को वर्ष आयोजना गराउँदा सहज हुन्छ । नत्र यस्तो चुनौतीूर्ण समयमा एसिया कप आयोजना गर्न गार्हो छ,' भारतीय क्रिकेट बोर्डका कार्यकारी स्रोतले भनेको छ ।
स्रोतका अनुसार भारतको सुझावलाई पाकिस्तानले खासै प्राथामिकतामा नराखेको समेत जनाए । यस्तै पाकिस्तानले न्युट्रल भेन्युमा एसिया कप आयोजना गर्ने तयारी समेत गरेको छ ।
भारतले पाकिस्तान भ्रमण नगर्ने जनाएपछि एसिया कप अन्योलमा परेको हो ।
एसिया कप श्रीलंका र दुबईमा आयोजना गर्ने सम्भावना बढी रहेको छ ।
यस्तै कोरोना भाइरसको कारण यस वर्षको पीएसएल सेमिफाइनलबाट रोकिएको थियो । बाँकी रहेको खेल पाकिस्तानले यसै वर्ष सकाउने जनाएको छ ।