एजेन्सी । एसिया कप क्रिकेट श्रीलंका वा युएई मध्ये एक राष्ट्रमा आयोजना गरिने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका सीईओ वासिम खानले एसिया कप क्रिकेट श्रीलंका र युएई मध्ये एक राष्ट्रमा आयोजना गरिने बताएका छन् ।
यस वर्ष आयोजना हुने एसिया कप क्रिकेट पाकिस्तानमा तय भएको थियो ।
तर, पाकिस्तान र भारतबीचको राजनैतिक द्वन्दको कारण एसिया कप सार्न लागिएको हो ।
भारतीय टिमले पाकिस्तान भ्रमण नगर्ने भएपछि श्रीलंका र युएई मध्ये एक राष्ट्रमा एसिया कप गर्न लागिएको हो ।
पाकिस्तान क्रिकेटका सीईओ खानले कोरोना भाईरस कम देखिएकोले श्रीलंकामा आयोजना हुने सम्भावना बढी भएको समेत बताए ।
'स्पष्ट रुपमा निश्चित समयमा हुनेछ । हामी एसिया कपका लागि आशावादी छौँ । किनकि श्रीलंकामा कोरोना भाईरसको केसहरु धेरै छैनन् । यदी उनीहरु गर्न सक्दैनन् भने युएई पनि तयार छन्,' खानले भने ।
कोरोना भाईरसको महामारी कायम रहेपछि एसिया कप अन्योलमा रहेको छ ।
तर, सीईओ खानले एसिया कप सेप्टेम्बर र अक्टोबर भित्रमा आयोजना हुने बताए ।
'एसिया कप अगाढी बढ्नेछ । पाकिस्तानी टिम सेप्टेम्बरको दोस्रो साता इंग्ल्यान्डबाट फर्कनेछ । त्यसपछि हामी सेप्टेम्बर वा अक्टोबरमा प्रतियोगिता सक्ने छौँ,' खानले थपे ।
पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ ।
घरेलु टिमसँगको टेष्ट र टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।