घुँडाको उपचारका लागि अग्युरो स्पेनमा
मंगलबार, असार ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले चोटको उपचार गर्न स्पेन पुगेका छन् ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा अग्युरोले देब्रे घुँडाको चोट बोकेका थिए ।
चोट बोकेपछि अग्युरो मंगलबार घुँडा विशेषज्ञसँग उपचार गराउन स्पेन गएका हुन् ।
अग्युरोले आफुले देब्रे घुँडाको चोट बोकेको र चाडै मैदान फर्कन कोशिस गर्ने बताएका छन् ।
'घुँडाको स्क्यान गर्दा देब्रे घुँडा बिग्रेको पुस्टि भएको छ । यो दुखद कुरा हो तर चाँडो मैदान फर्कन कोशिश गर्नेछु,' ट्वीटरले उनले लेखेका छन् ।
सोमबार राति बर्नलीलाई ५-० गोल अन्तरले पराजित गर्दा अग्युरो चोटको कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए ।
३२ वर्षीय अग्युरो यस सिजन सिटीका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
उनले यस सिजन सबै प्रतियोगितामा २३ गोल गरेका छन् ।














