एजेन्सी । पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्नो सात खेलाडीलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
सोमबार मात्र बोर्डले ३ खेलाडीलाई संक्रमण भेटिएका बताएको थियो ।
मंगलबार फकर जमान, इमरान खान, कासिफ भाटी, मोहमद हाफिज, मोहमद हसनैन, मोहमद रिजवान र वाहब रियाजलाई कोरोना संक्रमण पुष्टि भएको बोर्डले जनाएको छ । यसअघि सोमबार सादव खान, हेदर अली र हरिस राउफलाई कोरोना भएको थियो ।
यस्तै पाकिस्तानी टिमका स्टाफ मालङ अलीलाई समेत संक्रमण भएको छ ।
इंग्ल्यान्ड भ्रमणको तयारीमा रहेको पाकिस्तानको २९ सदस्यीय खेलाडीमध्ये बाँकी खेलाडीमा भने कोरोना नेगेटिभ देखिएको बोर्डले जनाएको छ ।
कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ ।
पछिल्लो २४ घण्टामा पाकिस्तानका १० खेलाडी कोरोना संक्रमित भएका छन् । खेलाडीमा कोरोना देखिएसँगै पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्योलमा परेको छ ।
पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ ।
घरेलु टिमसँगको टेष्ट र टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।