काठमाडौं । कर्णालीको हिउँ चितुवालाई चिन्नुहुन्छ ?
अरु भए फरक पर्न सक्छ । तर, खेलकुद क्षेत्रकालागि यो प्रिय नाम हो । एउटा इतिहास हो ।
कुरा हो, धावक हरि बहादुर रोकाको । जसको कुरा गर्ने बित्तिकै एक सफल धावकको पर्दा खुलिहाल्छ । अनि आउछ गिनीज बुक अफ वल्र्ड रेकर्डको प्रसंग ।
वर्तमानका कुरा पछि गरौला, कुरा सुरुवातबाट खोलौ ।
विद्यालय स्तरीय खेलकुदको कुम्भ मेला हो, विरेन्द्र रनिङ शिल्ड प्रतियोगिता ।
२०४० सालमा जुम्लामा भएको विरेन्द्र रनिङ शिल्डमा जुनियरतर्फ स्वर्ण जितेपछि न हो रोकायाको खेल जिवनको फड्को हान्न थालेको । खेल जीवनमा रोकायाले दुई दर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जितेका छन् ।
१३ वटा राष्ट्रिय खेलमा लगातार स्वर्ण जितेका रोकाया दुई पटक वल्र्ड च्याम्पियन भएका थिए ।
२७ बर्षसम्म उनले देशलाई प्रतिनिधित्व गर्दै धेरै देशमा नेपाली झण्डा फर्फराउने काम गरे ।
दुई महिनामात्र अघि हो । रोकायालाई एक्कासी रोगले च्याप्यो ।
असार १ गते, थचक्क बसेका रोकायामा हातखुट्टा चल्नै सकेनन् ।
अघिल्लो दिन आफ्ना प्रशिक्षार्थीसंग २५ किलोमिटर कुदेका रोकाया दोस्रो दिन चल्नै सकेनन् ।
कोठामै लखतरान परे । अवस्था गम्भिर भएपछि उनी प्लेन चढेर काठमाडौ आए । अनि न्युरो अस्पतालमा भर्ना भए ।
अस्पतालमा करिब दुई महिना बढी समय बिताए । लडिबुडी गरे ।
तर, उनको मन त्यति बेला कुँडियो, देशका लागि हजारौ माईलको यात्रा तय गरेका रोकालाई राज्यका कुनै निकायले खोज खबर गरेन । खेलकुद संघ, निकायले कुनै चासो दिएनन् ।
जब मानिसलाई समस्या र विपत्तिले घेर्छ । त्यति बेला न हो अभिभावक खोज्ने । रोकाले पनि त्यो समय अपनत्व खोजे । राज्यबाट, खेलकुदका जिम्मेवारका निकायबाट । तर, उनलाई त्यसको महशुश हुन भने पाएन ।
रोकालाई अहिले राज्यलाई दिएको योगदान भन्दा बढी राजनितिक क्षेत्रमा संग्लनता नभएकोमा दुःख लाग्छ । स्वास्थ्य प्रतिकुल बन्दा गतिलो ठाँउमा उपचार गर्न जान नपाएको गुनासो छ ।
‘म कुनै राजनीतिक दलमा संग्लन भएर दौडिएको हुन्थे भने म स्वदेशी अस्पतालमा बसेर उपचार गर्नुपर्थेन । मेरालागि बिदेशी अस्पतालका बेड कुरेर बसेका हुन्थे होलान ।’ रोका दुख पोख्छन् ।
रोका उपचारमा रहदाँ सरकारले एक लाख रुपैयाँ सहयोग गर्यो । त्यस्तै प्रदेश सरकारले एक लाख र जिल्लाको चन्दननाथ नगरपालिकाले ५० हजार दियो । खेल कर्ममा लागेर सम्पुर्ण जिवन समर्पण गरेका खेलाडीका त्यसपछिको संघर्षलाई रोकाले नजिकैबाट देख्न पाए ।
आफुले पाएको सहयोग रकमलाई जम्मा गरेर आफुजस्तै समस्यामा परेका खेलाडीका लागि अक्षय कोष बनाउने धोको रोकाले पालेका छन् । आफुले पाएजस्तै समस्या अरु खेलाडीले ब्यहोर्न नपरोस भन्ने उनको चाहना छ ।
अन्तराष्ट्रिय अल्ट्रा धावक रोका, एकपछि अर्को आफ्नै विश्व रेकर्ड तोड्ने खेलाडीमा पर्छन् । रोकाले ३० बढी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी छन् । ५७ बर्षे रोकालाई सरकार र राज्यसंग अब कुनै गुनासो छैन । एउटै सपना छ, आफु भन्दा अब्बल खेलाडी उत्पादन गरेर संसारलाई देखाउने ।
पुर्ण रुपमा निको हुन उनलाई कम्तिमा पनि ६ महिना लाग्छ ।
पहिला जस्तो दौडने क्षमता नभएपनि प्रशिक्षण दिने आँट भने उनको अझै मरेको छैन ।
लामो समय भयो उपचार गर्दै काठमाडौंमा समय बिताएको । रोका अब आफ्नो जन्मथलो जान चाहन्छन् । निहाल्न चाहन्छन ति डाँडा पाखालाई । जसले उनलाई अब्बल बनायो । परिस्थितीले उनलाई अहिले एउटा कोठामा सिमित बनाई दिएको थियो । करिब ६ महिना बसेरै बिताउनुपर्नेछ ।
रोका अझै लामो समय प्रशिक्षक भएर बस्न चाहन्छन्, तर स्वास्थ्यले मानिरहेको छैन । जुम्लामै बसेर १२ बढी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेका रोकायालार्य चिनाउने विश्वरुपा बुढा एक उदाहरण हुन् ।
इन्डोनेशियाको जाकार्तामा एशियन गेम्स चलिरहेको छ । नेपाल पदककालागि तड्पिरहेको छ । तर रोकालाई नेपालले पदकको आश गर्नु व्यर्थ लाग्छ ।
एशियन गेम्समा पदक जित्न एउटा खेलाडीले कम्तिमा ८ बर्ष लामो प्रशिक्षण गर्नु पर्ने उनी बताउछन् । प्रतियोगिता नजिक आउदाँ मात्र गरिने प्रशिक्षणको भरमा पदक जित्न नसकिने उनको भनाई छ । ‘राज्य पक्ष खेलकुदमा गम्भिर भएर लाग्ने हो भने अझै धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’ उनी भन्छन् ।
खेलकुदमा भएको फोहरी राजनीति देखेर रोकालाई दुख लाग्छ ।
‘जब सम्म खेल क्षेत्रमा आसेपासेलाई भित्राउने र राम्रा खेलाडीलाई लत्याउने प्रवृतिको अन्त्य हुदैन । राज्यले एशियाली स्तरमा पदकको आश नगर्दानै हुन्छ ।’ उनी भन्छन् ।
२७ बर्षे लामो खेल कर्ममा लागेका रोकायाले एकपटक पनि राजनीतिले खेल जिवनमा प्रगति गर्न सकिन्छ जस्तो लागेन । स्वतन्त्र भएर खेले देशलाई संसार भर चिनाउन सकिन्छ भन्ने समर्पण भावले खेल जिवन बिताए ।
१३ वटा राष्ट्रिय प्रतियोगिता मात्र दौडेका रोकालाई अन्य ३० वटा अन्तराष्ट्रिय खेलमा भने धेरै मेहनत गर्न प¥यो ।
देशभित्र अभ्यास गर्ने ठाँउको कमी थियो । राम्रा प्रशिक्षक थिएनन् । तर रोकाको यात्रा भने रोकिएन् । उनी दौडिरहे । कतै स्वर्ण जिते, कतै रजत हात पारे अनि कतै काँस्यमा चित्त बुझाए ।
तर उनको लक्ष्य एउटै थियो, दौडिएर देशलाई संसार भर चिनाउने । त्यसैले त उनी लगातार दुई पटक वल्र्ड च्याम्पियन बन्न सफल भए ।
देशकै नाम चिनाउन जिवन अर्पण गरेका रोकालाई एउटै अपेक्षा थियो । असहज परिस्थितीमा राज्यले भर देओस, टेको बनिदियोस । तर भने जस्तो संसार नहुने रैछ । उनलाई यस्तै लाग्छ ।