काठमाडौं । फुटबल ९० मिनेको खेल हो भने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पहिलो हाफको खेल सकाएका छन् ।
फुटबल राजनीतिमा कर्मा नयाँ अनुहार हैनन् । नेतृत्वमा दुई बर्ष अघि मात्र पुगेपनि फुटबल राजनीतिमा उनको पृष्ठभूमी लामै छ । गणेश थापाको दुई दशकको फुटबल राजनीतिलाई किनारा लगाउँदै उनी एन्फा नेतृत्वमा स्थपित भएका हुन् ।
उनी खेलाडी हैनन्, न त फुटबल प्राविधिकनै हुन् । हिमालयन शेर्पा क्लबको सञ्चालकको रुपमा उनले फुटबलमा आफ्नो पहिचान स्थापित गरे । एक हिसाबले उनी आफुलाई राम्रो ब्यवस्थापक भएको दाबी गर्छन् । तर उनकाे पछिल्ला दुई बर्षको कार्यकालको समिक्षा गर्दा कर्मा मैदान भित्र र बाहिर फुटबल व्यवस्थापनमै संघर्षरत देखिएका छन् ।?
फुटबलको आमूल परिवर्तन उनका एजेण्डा हुन् । सुशासन, पारदर्शीता र सामुहिक नेतृत्व उनले दिएका नारा हुन् । दुई वर्ष अघिसम्म उनी प्रश्न गर्ने ठाउँमा थिए, आज जवाफ दिने ठाउँमा छन् । तर ईमान्दारपुर्वक भन्न पर्दा उनको जवाफले कसैलाई सन्तुष्ट पारेकाे छैन ।
नेपाली फुटबलको मुल संरचना कस्तो हुने, चरित्र कस्तो बोक्ने र नतिजा कस्तो ल्याउने स्पष्ट चित्र उनले देखाउन सकेका छैनन् । दुई बर्षमा नेतृत्वबाट नतिजा खोज्नु न्यायोचित नहोला तर प्रारम्भिक बर्षमा उनले कम्तिमा फुटबल विकासको जग खडा गरिसक्नुपर्ने हो, धेरैले यही भन्छन् ।
नेतृत्वमा आएपछि कर्माले राष्ट्रिय टिमको प्रर्दशन र नतिजालाई प्राथमिकतामा राखेको देखिन्छ । मैदान भित्र नतिजा निकाल्न उनले पुरुष र महिला टिमलाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलसंगै विभिन्न प्रतियोगितामा सहभागी गराएका छन् । पुुरुष टिमंसंगै महिला टिमले समेत अन्तराष्ट्रिय खेलमा धेरै अनुभव बटुल्न पाएका छन् । दुवै टिमले नतिजाका हिसाबले उच्चतम सफलता प्राप्त गर्न नसकेपनि निराश बनाएका छैनन् ।
तर एन्फा नेतृत्वले सञ्चालन गरेको घरेलु लिगको संरचनाबाट फुटबलसंग सरोकार राख्ने निकाय निराश छन् । लिग फुटबललाई कुनैपनि देशको फुटबल विकासको मेरुदण्ड मानिन्छन् । तर घरेलु फुटबलको चित्र हेर्दा नेपाली फुटबल कतै नपुग्ने स्पष्ट देखिन्छ । पछिल्ला दुई बर्ष प्रयोग गरिएका पुरानै ढाँचाकाे फुटबल हेर्दा नेतृत्वसंग धेरै प्रश्न उब्जिएका छन् ।
तीन महिने लिगको सबै भन्दा ठुलो असर खेलाडीले ब्यहोरेका छन् । अधिकांश क्लब तीन महिना लिगलाई लक्षित गर्दै खेलाडीसग सम्झौता गर्छन् । बाँकी समय अधिकांश खेलाडी बेरोजगार बन्छन् । केही ठुला क्लब बर्षभरी खेलाडीसंग अनुबन्ध गर्छन् तर प्रतियोगिता नहुने समय खेलाडीलाई पैसा दिदैनन् ।
जब खेलाडीले वर्षभरी खेल्न पाउँदैन्, अझ भनौ वर्षभरी तलब पाउँदैन भने न फुटबलको श्रीवृद्धि सम्भव छ, न खेलाडीको भविष्य सुनिश्चित बन्छ । स्रोत व्यवस्थापनमा क्लबलाई सबल बनाउँदै वर्षभरी खेलाडीको रोजीरोटीको ग्यारेन्टी गर्नु एन्फा नेतृत्वको पहिलो जिम्मेवारी हो । कर्मा प्रारम्भिक रुपमा यसैमा चुकेका छन् ।
हरेक खेलका नायक भनेकै खेलाडी हुन् । कर्माले सुरुवाती दुई वर्ष नेतृत्वकाे हिसाबले दिएकाे परिक्षाको नतिजा खेलाडीको अनुहारमा सजिलै हेर्न सक्छन्। के उनी सन्तुष्ट हाेलान् ?
अर्को बिषय नेपालका अधिकांश क्लब समुदाय स्तरबाट सञ्चालित छन् । अधिकांश क्लबको चन्दा मुख्य आय श्रोत हो भने तीन महिना लिग खेल्नु उनीहरुको दायित्व हो । शीर्ष डिभिजनकै क्लब तीन महिना लिग खेलेर दायित्व पुरा गर्छन् भने नेपाली फुटबलबाट अरु थोकको आश गर्नु बेकार छ । एन्फा कम्प्लेक्समा कसैले गएर ताला ठोकिदिए हुन्छ ।
त्यसो भए क्लबलाई कसरी वर्षभरी व्यस्त राख्ने ? क्लबलाई कसरी खेलाडी उत्पादन र व्यवस्थापनसंग जोड्ने ? एउटा खेलाडीले वर्षभरी खेल्न पाउन के गर्नपर्छ ? नेतृत्वले यत्ति प्रश्नको जवाफ दिए पुग्छ ।
घरेलु फुटबल क्लबहरुलाई नीजिकरणमा लैजाने वा समुदायमै आधारित व्यवसायीकरणको नयाँ मोडेल सिर्जना गर्ने ? नेतृत्वको प्रष्ट योजना आउन जरुरी छ । उपत्यका बाहिरको फुटबललाई मुलधारको खेलकुदसंग जोड्ने सेतु नेतृत्वले सबैलाई बुझाउन जरुरी छ । तर तमाम बिषय वर्तमान नेतृत्व अलमल जस्तै देखिन्छ । सिंगो कार्यसमिति पंगु बनेको छ ।
प्रश्न नेतृत्वसंग मात्र हैन, सिंगो कार्यसमितिमाथि तेर्सिएको छ । अब भने एन्फा नेतृत्वले प्रष्ट रुपमा बोल्न आवश्यक छ, फुटबल विकासको नतिजामुखी योजना प्रस्तुत गर्न आवश्यक छ किनकी कार्यान्वयन चरणमा जान ढिलाई भईसकेको छ ।
अर्को मुख्य बिषय एन्फाभित्र अध्यक्ष कर्माको ठुलो उर्जा पदाधिकारी व्यवस्थापनमै खर्च भएको देखिन्छ । हुन न निर्वाचनमा परिवर्तनकारी शक्तिले 'क्लिन स्विप' गरेको थियो । कर्मा पक्षधर सबैले निर्वाचनमा जित निकालेका थिए । तर एन्फाको मुल नेतृत्व परिवर्तन भएपनि चरित्र पुरानै छ ।
एन्फा कम्प्लेक्सको वरपर जति पदाधिकारी भेटिन्छन्, उनीहरूले फुटबल विकास बाहेक सबै काम जानेका छन् । फर्जी बिल पास गराउन र विदेश भ्रमणकाे लाेभ बाहेक अधिकांश पदाधिकारीको दिमागमा केही भेटिदैन ।
फुटबललाई ‘बटरदेखि ब्रेड’ बनाउनेको बोलावाल एन्फामा कायम छ । फुटबल बदल्ने लक्ष्य सहित एन्फा छिरेका कर्मालाई स्वार्थ समुहका दुई तिहाई अहिले बोझ बनेको छ ।
कर्मचारीदेखि आर्थिक नियमावली कार्यान्वयनमा ल्याएर कर्माले एन्फालाई संस्थागत रुपमा अघि बढाउन नखोजेका हैनन् तर निर्णय प्रक्रियामा नेतृत्वले सही अडान लिन नसक्दा कर्मा स्वार्थ समूहको गोटी बन्ने खतरा उत्तिकै छ ।
व्यक्तिगत रुपमा कर्मा आफै आर्थिक रुपमा सफा र फुटबल विकासमा प्रतिबद्ध छन् । तर एन्फाभित्र बलदेखि महल बनाउदाँ कमिसनमा लिप्त पदाधिकारीले कार्यशैली र चरित्रलाई सुधार गर्न नसक्दा फुटबल उनकै असक्षमताको बन्दी बन्ने खतरा टट्कारो देखिन्छ ।
फुटबलको नक्शा बदल्ने उद्घोष सहित एन्फा नेतृत्वमा उक्लिएका कर्माका सुरुवाती दुई बर्ष सुखद रहेन । बहुसंख्य लोभीपापी र अवसरवादीको हुल बोकेर एन्फा कम्प्लेक्स छिरेका कर्मा आफ्नै सहकर्मीका अनुचित दबाब र व्यवहारबाट गलेको देखिन्छन् । पारदर्शीता, सुशासन र व्यवसायीकरणको नारा बाेकेका उनी फुटबल राजनीतिमा रक्षात्मक अवस्थामा आईपुगेका छन् ।
नेतृत्वको हिसाबले उनले एन्फामा फरवार्डको भूमिका खेल्नुपर्ने हो । तर एन्फाभित्रका स्वार्थ समूह निर्णय प्रक्रियामा हाबी बन्दा उनी डिफेन्डरको पोजिसनमा खस्किएका छन् ।
निर्धारित ९० मिनेटको खेलमा उनलाई दोस्रो हाफको समय प्राप्त छ । पहिलो हाफमा गरेका गल्ती सुधार्ने मौका छ । रणनीति बदल्दै फेरी एक पटक खेलमा फर्कने अवसर बाँकी देखिन्छ ।
दोस्रो हाफमा कर्माले गर्ने प्रर्दशनले उनको फुटबल राजनीतिको भविष्य निर्धारण गर्ला !