काठमाडौं । एसियन गेम्सको फुटबलमा नेपालले गोलको खडेरी तोडेको छ । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्समा आएर नेपालले गोलको खडेरी तोडेको हो ।
इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा अहिले जारी पाकिस्तानविरुद्धको खेलमा गोल गर्दै नेपालले गोलको खडेरी अन्त्य गरेको हो ।
समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले आत्मघाती गोलबाट ईतिहास रचेको हो । खेलको १२ औं मिनेटमा पाकिस्तानका युनस सहबाजले आत्मघाती गोल गरे ।
यो नेपालले एसियन गेम्समा ३६ वर्षपछि पहिलोपटक गोल गरेको हो । यसअघि सन् १९८२ को एसियन गेम्समा नेपालले पहिलोपटक गोल गरेको थियो । उक्त संस्करणमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।