काठमाडौं । स्टार भनेकै भब्य हुनु हो, चम्किलो हुनु हो ।
स्टारमा रंग जति थपिन्छ, बस्तु अझ भब्य र चम्किलो बन्छ, बन्नुपर्छ ।
घरेलु फुटबलमा समेत एउटा स्टार क्लब छ, थ्री स्टार । नाम जस्तै यसको पनि चम्किलो ईतिहास छ । गर्विलो विगत छ । तर पछिल्ला बर्ष नाम जस्तो हुन छाडेको छ, थ्री स्टार ।
स्टार खेलाडीको भिड, उम्दा प्रर्दशन र उपाधि जित्ने नतिजा थ्री स्टारको बिशेषता हो । तर पछिल्लो बर्षको नतिजा, प्रर्दशन र खेलाडी अनुबन्धनमा थ्री स्टार शान्त जस्तै बस्यो ।
धेरैले माने थ्री स्टार पहिले जस्तो रहेन ।
लिगमा ठिक ठाक नतिजा निकालेको थ्री स्टार मोफसलमा समेत फिक्का सावित बनेकाे छ ।
सहिद स्मारक ए डिभिजन लिगमा अन्तिम चारमा नाम लेखाएपछि थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले भनेका थिए, “लिगमा एउटा सेट टिम तयार पारेका छौं । युवा टिमबाट राम्रो गर्ने भनेका थियौं । त्यसैमा लाग्यौं । सफल भएका छौं ।’
लिग हुनु भन्दा केहि समय अघि मात्रै थ्री स्टारका अनुभवी खेलाडीले टिम छाडेका थिए । राष्ट्रिय टिमका ४ खेलाडी र केहि भरपर्दा विदेशीकोे बर्हिगमनसँगै अनुभवी कप्तान विक्रम लामा, अनन्त तामाङ, रुपेश केसी र नयाँ स्टार मिक्छेन तामाङ बाहेक थ्री स्टारले बाँकी सबै खेलाडी नयाँ राख्यो । नयाँ टिम र युवा खेलाडीलाई प्रोत्साहन गर्दै अघि बढ्ने अठोट गर्यो ।
तर सुरुवातमै उसले सोचेको जस्तो नतिजा पाएन ।
केही समयमै झापाली स्टार निशान खड्का र संजोक राईलाई टिममा अनुबन्ध गर्यो । उनीहरुको आगमन, विदेशी गोलरक्षक प्रिसोको प्रदर्शन र अनुभवी दुई डिफेन्डरको भरमा थ्री स्टारले लिगमा चौथो स्थानमा रह्यो ।
जुन टिम लिएर थ्री स्टार मैदान आएको थियो । त्यही अनुसार लिगमा थ्री स्टार सफल भयो । तर थ्री स्टारले औसत प्रर्दशन र नतिजाले नेपाली फुटबललाई खुसी पार्न सक्दैन ।
घरेलु फुटबलको लोकप्रिय क्लब थ्री स्टारबाट आम प्रशंसकको आश धेरैनै हुन्छ ।
लिगको समापनसँगै थ्री स्टार मोफसल प्रतियोगितामा होमियो । लिगमा सेट भएको टिमबाट मोफसलमा राम्रो नतिजा ल्याउने अनुमान थियो । तर मोफसलमा समेत थ्री स्टार फिक्का देखियो ।
खप्तड र सताक्षी गोल्डकपको फाइनल पुगेपनि थ्री स्टार उपाधि जित्नबाट बञ्चित भयो ।
सताक्षी गोल्डकपमा मछिन्द्रसंग हारेको थ्री स्टार खप्तड गोल्डकपमा औसत खेलाडी समावेश आयोजक सुदुरपश्चिम ११ संग स्तब्ध बन्यो ।
खप्तड गोल्डकपमै प्रशिक्षक मेघराज केसीले क्लबले उपाधि भिडन्तमा टक्कर दिन नसकेको स्विकार गरे ।
‘थ्री स्टारको अघिल्लो बर्षहरु जस्तो खेल पाईएको छैन । थ्री स्टारले नयाँ टिम बनाईरहेको छ । नयाँ खेलाडी छन् । उनीहरुलाई अनुभवी हुन केहि समय लाग्छ । पुरानो खेल देखाउन पक्कै केही समय लाग्छ । तर तुरुन्तै हुने केहि छैन ।’ उनले भने ।
थ्री स्टारले हाल मोफसलमा ३ प्रतियोगिता मात्रै खेलेको छ । तीन प्रतियोगितामा उसको मिश्रित नतिजा छ ।
सताक्षी र खप्तड गोल्डकप उपाधिबाट चुकेको थ्री स्टार आहा रारा गोल्डकपमा सेमिफाइनलबाटै बाहिरियो । साविकको विजेता थ्री स्टार विभागीय पुलिससँग ३–० ले पराजित बन्यो ।
मोफसलमा भने थ्रीस्टार विदेशी खेलाडी राख्नबाट पनि चुक्यो । उसले लिगमा ४ वटै विदेशी खेलाडी खेलाएपनि मोफसलको सताक्षीमा मात्रै एक विदेशी (भारतीय स्ट्राइरक लाल मौवा) लाई मैदान उतारेको थियो ।
विदेशी खेलाडीसँग लिगसम्मको सम्झौता रहँदा उसले मोफसलका लागि नविकरण गर्न पाएन । यसमा पनि थ्री स्टार चुकेको देखिन्छ ।
‘लिगसम्मका लागि विदेशी खेलाडीसँग सम्झौता गरेका थियौैं । मोफसलमा भने गोलरक्षक बाहेक अरुलाई छोडेपनि गोलरक्षक (प्रिसो)को नविकरण गर्न नपाउँदा घाटा भयो ।’ क्लबका अध्यक्ष अरुण मान जोशी भन्छन् ।
कुन पोजिसन र कुन प्रतियोगिता भन्दा पनि कस्ता खेलाडी उत्पादन गर्न सक्छ र बजारमा कस्ता खेलाडी दिन सक्छ भन्नेतर्फ लागेको थ्री स्टार दाबी गर्छ ।
‘यो पटक लिगमा सफल भएको भन्छौं । कुन पोजिसन भन्दा समेत कति युवा खेलाडीलाई ल्याउन सक्यौं भन्ने हो ।’ प्रशिक्षक केसी भन्छन् ।
थ्री स्टारले अन्य क्लबको झै खेलाडी बटुल्दै हिडेको पनि छैन । उसले लिगमा जुन खेलाडीलाई मौका दियो, मोफसलमा समेत सोही खेलाडी प्रयोग गरेको छ ।
मोफसलमा एकै खेलाडीले २–३ क्लब परिवर्तन गर्दै खेलेका छन् । तर थ्री स्टारले भने फरक देखिन्छ । खेलाडीलाई अन्य क्लबका लागि रिलिज पनि गरेको छैन ।
थ्री स्टारले केही समय अघिमात्र अरुणमान जोशीकै नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । जुन अझै तीन बर्षको रहने छ । नयाँ कार्यसमितीलाई चुनौती देखिन्छ । क्लबलाई नतिजा चाहिएको छ, पुरानै लयमा फर्कन छ । त्यसका लागि पर्याप्त लगानीको व्यवस्थापन गर्नुपर्नेछ ।
‘अहिले पनि ब्यवस्थापनबाट त राम्रोनै भएको छ जस्तो लाग्छ । तर मैदानमा रिजल्ट चाहेजस्तो आएको छैन । आउँदो दिनमा झनै राम्रो गर्न लाग्छौं ।’ जोशी भन्छन् ।