एजेन्सी । जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुद समयमा हुनेमा अन्योलता देखिएको छ ।
टोकियो ओलम्पिक सुरु हुन करिब चार महिना बाँकी रहेको अवस्थामा चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसले कारण अन्योलता थपेको हो ।
कोरोनाले विश्व आक्रान्त बनेपछि टोकियो ओलम्पिकलाई दुई वर्ष लम्ब्याएर सन् २०२२ मा गराउने तयारी समेत चलेको छ ।
कोरोनाको कारण अहिले विश्व खेलकुदनै प्रभावित भएको छ ।
'यो समर भित्र कोरोना त्रास नरोकिए टोकियो ओलम्पिक सन् २०२२ मा संचालन हुन सक्ने छ,' टोकियो ओलम्पिक आयोजना कमिटिका एक सदस्यले भनेका छन् ।
यस्तै टोकियो ओलम्पिक समयमा आयोजना हुन नसके आयोजक जापानिज ओलम्पिक कमिटि र अन्तराष्ट्रिय ओलम्पिक कमिटिलाई ठुलो आर्थिक घाटा ब्यहोर्नु पर्ने बताइएको छ ।
त्यसैले टोकियो ओलम्पिकलाई रद्द गर्नु भन्दा दुई वर्ष पछि धकेल्ने प्रयास सुरु गरिएको हो ।
'ओलम्पिक स्थगित गर्नु भन्दा दुई वर्ष पछि सर्ने बलियो सम्भावना रहेको छ,' टोकियो ओलम्पिकका प्रमुखले भने, 'अन्तराष्ट्रिय ओलम्पिक कमिटि र टोकियो ओलम्पिकको छलफलमा सन् २०२२ मा सारे कमनवेल्थ गेम्सलाई असर पर्ने समेत कुरा उठेको छ ।'
त्यसैले टोकियो ओलम्पिकलाई रद्द गर्ने कुरा समेत उठेको उनले बताए । तर, टिभि राइटबाट अन्तराष्ट्रिय ओलम्पिक कमिटिलाई ठुलो आर्थिक घाटा ब्यहोर्नु पर्ने भएकाले टोकियो ओलम्पिक रद्द भन्दा दुई वर्ष सर्ने बढी सम्भावना रहेको बताइएको छ ।
टोकियो ओलम्पिक जापानको टोकियोमा सन् २०२० को जुलाई देखि अगष्टसम्म आयोजना हुने तालिका छ ।