काठमाडौं ।
२०४४ साल, फागुन २९ गते ।
स्थान, दशरथ रंगशाला ।
त्रिभुवन च्यालेन्ज सिल्डको फाईनल खेल थियो । मैदानमा जनकपुर चुरोट उद्योग कारखाना र मुक्ती जोद्या बंगलादेशको टिम थिए ।
फाइनल खेल सुरु हुँदै थियो ।
रंगशाला परिसर भरिभराउ थियो । पुरै उपत्यका त्रिपुरेश्वरमा ओर्लिए जस्तो ।
दर्शक दिर्घामा खुट्टा टेक्ने ठाउँ थिएन ।
मौसम पनि सफा थिएन । सामान्य झरी परिरहेको थियो । हावा हुरी चलिरहेको थियो ।
खेल सुरु भयो ।
तर, केही बेरमै मौसमले रंग फेर्न थाल्यो । झरी र हुरीले उग्ररुप लियो, केही बेरमै बितन्डा मच्चाउन सुरु गर्यो ।
खेल सुरु भएको १८ मिनेट बितेको थियो । नेपाल एक शुन्यले पछाडी थियो ।
मौसम प्रतिकुल भएपनि दर्शक मैदान छिर्न खोज्ने क्रम घटेको थिएन । प्यारापिटमा जति दर्शक थिए, त्यो भन्दा बढी बाहिर देखिन्थे ।
जब हावा, पानी र असिना दर्कन थाल्यो । बलनै गुड्न कठिन हुन लाथ्यो । रेफ्रीले तत्काल खेल रोक्न सिटी फुके ।
दर्शकको भिडले मैदान प्रवेश गर्ने सम्पुर्ण ढोका बन्द गरिएका थिए । काढे तारले मैदान छिर्न रोक लगाईएको थियो ।
बदलिदो मौषमसंगै असिनाका ठुला ठुला डल्ला झर्न थाले । ओतको खोजीमा मैदानमा भाग दौड सुरु भयो ।
मैदान बाहिर निस्कने ढोका बन्द थिए । साँघुरो ढोकाबाट छिर्न नि मुस्किल थियो ।
असिना र पानी दर्किएसंगै दर्शकको बाक्लो संस्था मैदानतर्फ झर्यो ।
नयाँ रंगशालाको डलान (कंक्रिट)ले बनाएको सिट मुनिको (बिम) अहिलेको जस्तो थिएन, खुल्ला नै थियो । बिम र पर्खाल बनाउन खाल्डाहरु बनाईएका थिए ।
भाग्ने क्रममा धेरै दर्शक त्यही खाल्डोमा परे । कतिले सोही बिममा च्यापिएर ज्यान गुमाए ।
संख्या एकिन त हैन, तर करिब ७३ जनाको मृत्यु भएको बताईयो ।
जुन घटना नेपाली फुटबलकै कालो दिनको रुपमा रही रह्यो ।
घटनाले नेपाल मात्र हैन, पुरै विश्वलाई तरंगित बनायो ।
त्यो समय जनकपुर चुरोट कारखानाको कप्तान थिए, देबेन्द्रमान सिंह बस्नेत ।
मैदानमा जब भागदौड मच्चियो, खेल सुरु भएको २६ मिनेट बितेको थियो ।
मैदानको अवस्था देख्न नसकेर ड्रेसिङ रुम पुगेको देबेन्द्र अझै पनि सम्झिन्छन् ।
“त्यो समयको अवस्था निकैनै दयनिय थियो । मैदान छाड्ने बेला २६ मिनेट भैसकेको थियो । त्यहाँको अवस्था हेरिनसक्नु थियो ।” घटनाको स्मरण गर्दै देबेन्द्रले खेलपाटीसंग भने ।
घटनाको आज (बिहीबार) ३२ वर्ष पुरा भएको छ ।
रंगशाला घटनाको तत्कालिन समयमा एन्फा अध्यक्षमा कमल थापा, महासचिवमा टिकाराम शाही, राखेप सदस्य सचिवमा शरद चन्द्र शाह र शिक्षा तथा संस्कृति मन्त्रीमा केशर बहादुर बिष्ट थिए । खेलका मुख्य अतिथी राज्य सभा स्थायी समितिका सभापती अनिर रुद्र प्रसाद सिंह रहेका थिए ।
घटना लगत्तै तत्कालिन मन्त्री विष्टले नैतिकताको कारण देखाउँदै पदबाट राजीनामा दिए । विष्टले देखाएको नैतिकताको राजनीतिलाई नेपाली राजनीतिमा अझैपनि उदाहरणको रुपमा लिने गरिन्छ ।
तत्कालिन प्रतियोगिता आयोजना कमिटिको संयोजक थिए, एन्फा सह–सचिव दिपक हर्ष बज्राचार्य ।
उनलाई अझै नयाँ रंगशालामा भरिएका करिब ३५ हजार दर्शक र भनायक दुर्घटनाको स्मरण ताजै छ ।
“खेल सुरु नहुँदै पानी र हावा लाग्ने भैरहेको थियो । पछि असिना र हावा पानीले खेलमा अवरोध पुर्यायो । मैदानको सबैतर्फ ढोका लगाएकाले सबै दर्शक मैदान आए । एकै पटक सबै दर्शक आउँदा झन दुर्घटना बढ्यो ।” बज्राचार्य सम्झिन्छन् ।
धेरैले रंगशालाको ढोका बन्द भएका कारण ज्यान गुमाउनेको संख्या बढेको बताउँछन् । तर बज्राचार्यकै कुरा मान्ने हो भने रंगशालाको ढोका बन्द भएका कारण धेरैको ज्यान बच्न पुग्यो ।
“सबै ढोका खोलिएको भए झन भाग्नेको संख्या बढी हुन्थ्यो । त्यसले गर्दा एक अर्कालाई कुल्चने र भाग्ने हुन्थ्यो । त्यो अवधिमा झन बुढा बुढी र बच्चाको मृत्यु हुने सम्भावना बढी रहन्थ्यो ।” बज्राचार्य भन्छन् ।
समयमानै उपचार नहुदाँ धेरेको मृत्यु भएको बज्राचार्यको बुझाई छ ।
“विरामी भएका सबैलाई विर अस्पताल पुर्याईयो । तत्कालिन समयमा उपचारको राम्रो सुविधा थिएन । सबैलाई एकै स्थानमा पुर्याउदा मृतकको संख्या बढेको हो ।” उनी दाबी गर्छन् ।
विश्वभर भएका रंगशालाको दुर्घटनाको शीर्ष १० भित्र दशरथ रंगशालाको घटना पर्ने गरेको छ ।
घटनासँगै सरकारले मैदान, प्यारापिट, स्कोर बोर्ड, फ्लड लाईट, सेन्थेटिक ट्रयाक बनाउने कामलाई तिब्रता दिएको थियो ।
तर जिम्मेवार निकायले थोरै सावधानी नपनाउँदा अकारण फुटबल हेर्न आएका करिब ७३ दर्शकले रंगशाला परिसरमा मृत्युवरण गर्न पुगे ।