काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको पहिलो पटक 'फुलबडी चेकअप' गराएको छ ।
क्यानले २२ नेपाली क्रिकेट खेलाडीको पहिलो पटक 'फुलबडी चेकअप' गराएको हो ।
'खेलाडीलाई यस्तो चेकअप आवश्यक रहेको थाहा पाउने बित्तिकै क्यानले त्यसको सुरुवात गरेको हो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलपाटीलाई भने, ’हाल २२ खेलाडीको चेकअप बानेश्वरको एभरेष्ट हस्पिटलमा गरिएको हो ।’
क्यानले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय सिरिजपछि खेलाडीको चेकअप गरेको छ ।
'खेलाडीमा भएको पौष्टिक तत्व जस्तै भिटामिन, क्याल्सियम, प्रोटिन लगायतको कमी भए चाहिने खाने कुरा खेलाडीले खान सक्ने छन् ।’ उनले थपे, ’खेलाडी चाडै थाक्ने, केहि समयमा स्टामिना कम भएको महसुस हुने खेलाडीलाई चेकअपले मद्दत गर्छ । चेकअपले खेलाडीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरेका छौं ।’
'फुलबडी चेकअप' महँगो हुने भएकाले आउने दिनमा यसलाई निरन्तरता दिन हस्पिटल र खेलाडीसंग क्यानले सम्झौता गर्दै चेकअपको सहज बातावरण बनाउने चन्दले उल्लेख गरे ।
चेकअपसंगै खेलाडीको रिपोर्ट अनुसार चाहिने पौष्टिक तत्व क्याल्सियम, भिटामिनजस्ता कुरा सेवन गर्न समेत सुरु भईसकेको टिममा फिजियो बिक्रम न्यौपानेले बताए ।
'रिपोर्ट अनुसार खेलाडीलाई सबै जानकारी गरेको छु ।’ राष्ट्रिय क्रिकेट टिमको फिजियो न्यौपानेले खेलपाटीलाई भने, ‘उनीहरुलाई चाहिने पौष्टिक तत्व, भिटामिन, क्याल्सियम जस्ता आवश्यक सबै कुरा लिन सुझाब दिएको छु ।’
'फुलबडी चेकअप' खेलाडीको लागि निकै महत्पूर्ण रहेको फिजियो न्यौपाने बताउँछन् । यस प्रकारको चेकअपबाट खेलाडीको प्रर्दशनमा प्रत्यक्ष फाईदा पुग्ने उनी उल्लेख गर्छन् ।
'चेकअपले खेलाडीको कमी कमजोरी पत्ता लगाउन मद्दत गर्छ ।’ उनले भने, ’त्यसैले उनीहरुलाई आवश्यक पर्ने पौष्टिक तत्व सेवन गरेर रोग लाग्न भन्दा पहिलेनै निको हुने गर्छ ।’
चेकअपले खेलाडीको मनोबल बढ्ने र खेलमा थप सुधार हुने न्यौपाने बताउँछन् ।
'अन्तरिक रुपमा बलियो र फिट छु भन्ने थाहा भयो भने खेलाडीले खेलमा शतप्रतिशत दिने र नतिजा राम्रो आउन सक्छ ।’ उनले भने, ’बाहिर रोग नदेखिए पनि यसको रिपोर्टमा भित्रि खराबी सहजै देखिने हुँदा सुरुवातमै उपचार गर्न सजिलो हुन्छ ।’
न्यौपानेको अनुसार हरेक वर्षमा खेलाडीको फुल बडी चेकअप आवश्यक रहेको छ ।
'ढिलो भएनी क्यानले राम्रो कम गरेको छ । आउने दिनमा यसलाई निरन्तरता दिनेमा विश्वस्त छौं ।’ उनले थपे ।