एजेन्सी । अफगानिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा आयरल्याण्ड विजयी भएको छ ।
भारतको नोएडामा मंगलबार आयरल्याण्डले सुपर ओभरमा अफगानिस्तानलाई हराएको हो ।
आयरल्याण्डले दिएको १ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा अफगानिस्तानले १ विकेट गुमाएर ८ रन बनायो । आयरल्याण्डले भने १ विकेट गुमाएर १२ रन जोड्दै जित हात पार्यो ।
अन्तिम खेलमा आयरल्याण्डले जित निकाले पनि अफगानिस्तानले सिरिज २-१ ले आफ्नो बनाएको छ ।
सुपर ओभरमा जानु अघि अफगानिस्तानका रहमान उल्लाह गुरबाजले ४८ रन जोड्दा कप्तान अस्घर अफगानले ३२ रन बनाए । आयरल्याण्डका ग्यारेथ डिलाने र सिमि सिंहले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसका ग्यारेथ डिलानेले ३७ तथा ह्यारी हेक्टरले ३१ रन बनाए ।
अफगानिस्तानका क्वाएस अहमद र नबिन उल्हकले ३/३ विकेट लिए ।