काठमाडौं । साविक विजेता ललितपुर पेट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुई युवा खेलाडीलाई ट्यालेन्ट हन्टबाट छनोट गरेको छ ।
ललितपुरले इमाडोलमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट बिभत्सु थापा र आरियो पौडेललाई छनोट गरेको हो । ईपीएलको नियम अनुसार हरेक टिमले दुई खेलाडीलाई ट्यालेन्ट हन्टबाट छनोट गर्नु पर्ने रहेको छ ।
बिभत्सु ब्याट्सम्यान हुन् भने आरियो स्पिनर हुन् । दुवै खेलाडी टिमको प्रशिक्षण सुरु भएपछि टिममा सामेल हुने छन् ।
ईपीएल अनिश्चित समयको लागि स्थगित भएपनि ललितपुरले ट्यालेन्ट हन्ट गरेको हो ।
विश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण ईपीएल स्थगित गरिएको हो । ईपीएलको नयाँ मिति पछि तोकिने आयोजकले जनाएको छ ।
टियु क्रिकेट मैदानमा तय भएको ईपीएल चैत १ गतेबाट हुने बताईएको थियो । यस्तै उद्घाटन खेलमा ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने तय भएको थियो ।
ललितपुरले विदेशी खेलाडीको रुपमा श्रीलंकाका उपुल थरंगा र पाकिस्तानका हसन खान, हमाद आजम र बलर मिर हाम्जालाई अनुबन्ध गरेको थियो ।
ललितपुर राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । टिमको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।