काठमाडौं ।
सन् २०१२, मलेसिया ।
विश्व क्रिकेट डिभिजन-४ को खेलमा नेपालको प्रतिद्वन्दी अमेरिका थियो ।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लियो ।
ओपनरद्वय सुबास खकुरेल र अनिल कुमार मण्डल ११ ओभरको समाप्तिमा ३० रन बनाएर क्रिजमा थिए ।
२८ बल खेल्दै १२ रन बनाएका अनिल रिटायर्ड हर्ट हुन पुगे । र, मैदानमा ज्ञानेन्द्र मल्ल आए ।
मल्ल र खकुरेलबीच उत्कृष्ट साझेदारी भयो ।
२८ ओभरसम्म विना विकेटको क्षतिमा नेपालले खकुरेलको अर्धशतकसंगै १ सय ८ रन बनाएको थियो ।
तर, २९ ओभरको अन्तिम बलमा मल्लले मिडअफ क्षेत्रमा लामो सट प्रहार गरे । तर डाईभ गर्ने फिल्डरको नजिकै बलले एक टप्पा खादै क्याच भयो ।
थर्ड अम्पाएर नभएको कारण रिप्लेमा हेर्ने सुविधा थिएन । अम्पाएरले आउट भएको संकेत गरे ।
मल्ल र खकुरेलले निर्णयविरुद्ध अपिल गरे । तर, हुनेवाला केही थिएन ।
अम्पाएरको गल्तीका कारण मल्ल अर्धशतक बनाउनबाट ४ रनले चुके ।
त्यसपछि कप्तान पारस खड्का मैदानमा आए ।
नेपालले ३५ ओभरमा १ सय ३८ रन बनाउँदा मात्र एक विकेट गुमाएको थियो ।
डिभिजनमा उक्लिन नेपालका लागि खेल निकै महत्वपूर्ण थियो ।
सुबासलाई लाग्यो, अब रन बढाउन लाग्नु पर्छ ।
खेलमा सुबास सेट थिए ।
उनले ३६ औं ओभरको सुरुवातदेखि अमेरिकन बलरमाथि दावा बोल्न थालेका थिए ।
बलिङमा आए, देब्रे हाते तिब्र गतिका बलर एल्मोरे हट्चिन्सन ।
पहिलो बल डट खाएका खकुरेल दोस्रो बलमा लामो सट हान्न तयार थिए । सुबास पिचको थोरै पछि सरे र बल कुर्दै थिए । ठ्याक्कै हट्चिन्सनले लेन्थ बल फाल्न पुगे ।
एक खुट्टा पछि सारेर सुबासले पुल गरे र बलले स्क्वाएर लेगमा चौकाको लागि गुडी रहेको थियो ।
दुवै ब्याट्सम्यान दौडिदै थिए । सुवासले आफ्नो तर्फको स्टम्प माथिको ‘गुल्ली’ झरेको देखे ।
सुबासलाई याद आयो, अघि एक खुट्टा पछि सारेर सट हान्दा खुटाले स्टम्पमा लागेको थियो ।
सबैको ध्यान बलमा भएका कारण कुनै खेलाडीले पनि ‘गुल्ली’ झरेको देखेनन् ।
सुबासलाई के गरौँ, के गरौँ भयो ।
पारसलाई सोधे, ‘मेरो खुट्टाले बेल झरेको छ, के गरौ ? कसैले देखेको छैन रहेछ ।’
पारसले पनि ज्ञानेन्द्रलाई नभएको आउट दिएको कारण शान्त भएर बस्न भने ।
त्यसपछि सुबासले स्टम्प भएको ठाउँमा पुगेर बेल टिपेर यथास्थानमा राखिदिए ।
बेल झर्नु पहिले अमेरिका विकेट किपरले देखेका रहेछन् । उनी अपिल गर्दै थिए । तर,अन्य खेलाडी तथा अम्पाएरले नदेखेको कारण सुबास आउट भएनन् ।
अन्तत सुबासले सो खेलमा १ सय १५ रनको शतकीय इनिङ्स खेल्दै नेपाललाई जित दिलाए ।
१ सय ४२ बल खेलेका सुबासले १० चौका र २ छक्का प्रहार गर्दै नेपालको लागि सर्वाधिक स्कोर बनाएका थिए ।
त्यो दिन सम्झिदाँ सुबास अहिले पनि रोमाञ्चित हुन्छन् ।
‘भाग्यको कुरा रहेछ, लेखेको कुरा नै हुने हो जीवनमा ।’ सुबास भन्छन्, ‘फिल्डमा २ जना अम्पाएर हुनुहुन्छ जसको काम नै खेललाई नियाल्ने हो । उहाँहरुको निर्णय नै अन्तिम हुन्छ ।’
‘सायद बिपक्षी टिमका खेलाडी भएको भए पनि त्यही गर्नु हुन्थ्यो होला ।’ सुबासले थपे, ‘खेलमा सबै कुरा फेयर हुन्छ । त्यो दिन भाग्यले मलाई आउट हुनबाट बचायो । सायद भगवानले नै त्यो दिन मलाई शतक हान भनेका थिए ।’
डिभिजन चारमा नेपाल अपराजित रहँदै डिभिजन ३ मा बढुवा भएको थियो ।
फाइनल खेलमा नेपालले पुन अमेरिकालाई ८ विकेटले पराजित गर्न सफल रहेको थियो ।
क्रिकेट जीवन
सुरुवाती समयमा सुबासलाई क्रिकेट खेल्न सजिलो थिएन । घरबाट समर्थन थिएन, उनी भागेर क्रिकेट खेल्न जाने गर्थे । त्यो बेला नेपाली क्रिकेटले न उचाइ लिएको थियो, न ब्यवसायीकनै थियो । खेल्ने सामाग्री नहुनुको ब्यथा छुट्टै थियो । घरबाट निस्कनु नै मुख्य समस्या हुने गर्दथ्यो ।
‘सायद मेरो जस्तो दुख त्यो बेला क्रिकेट खेल्ने सबैले गरे होलान् ।’ सुबास सम्झन्छन्, ‘त्यही संघर्षले गर्दा नै नेपाली क्रिकेटले यो उचाई पाएको हो ।’
त्यो बेला खेल्ने चौरका लागि गरेका संघर्षका रमाईला खिस्सा सुबासलाई याद छ ।
‘बिहान खेल्नका लागि राति ३ बजे उठेर टुँडिखेल जानु पर्दथ्यो ।’ सुबास सम्झन्छन्, ‘राति त्यसबेला घरबाट भागेर खेल्ने पिच रिजर्भ गर्नु पर्दथ्यो । नत्र खेल्नै पाइदैन थियो ।’
देशका लागि खेल्छु भन्ने सुबासले कहिलै सोचेनन् ।
‘रमाइलोका लागि दाजु भाईसंग फुर्सदको बेला खेल्ने गरेका थियौं ।’ सुबास सम्झिन्छन्, ‘तालिकानै थियो, आइतबारदेखि शुक्रबारसम्म पढाई । बिदाको शनिबार दिनभर क्रिकेट । घरबाट गाली गरे एक हप्ता क्रिकेट बन्द, अर्को हप्ताबाट फेरी सुरु ।’
काभ्रेपलान्चोकमा जन्मिएका सुबास ७ वर्षको उमेरमा काठमाडौं आए । भानुभक्त स्कुलमा भर्ना भए । त्यही क्रिकेट खेल्न सिके । स्कुलमा क्रिकेटको राम्रै माहोल थियो । विद्यालय स्तरीय प्रतियोगिता हुने गर्दथ्यो । सुबासले समेत केही प्र्रतियोगिता खेले । तर सुबासले राम्रोसंग क्रिकेट खेल्न भने ह्वाइटहाउस कलेजमा आएपछि सिकेका हुन् ।
पारस खड्का, ज्ञानेन्द्र मल्ल, बिनोद दास, कनिष्क चौलागाई लगायतका खेलाडी सोही कलेजमा पढ्थे । उनलाई समेत क्रिकेट खेल्न सहज भयो ।
सुबासले नेपालबाट उमेर समूहको क्रिकेट खेल्ने मौका पाए ।
उनले सन् २०१० मा दक्षिण एसियाली खेलकुदमा नेपाल यू–२१ बाट पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए । प्रतियोगितामा सुबासले ५ खेलमा ९० रन बनाउँदै सर्वाधिक रन बनाउने १० औं स्थानमा रहे ।
लगत्तै, सुबासले राष्ट्रिय टिममा डेब्यु गर्ने मौका पाए । सन् २०११ को एसीसी टी–ट्वान्टी कपमा घरेलु मैदानमा डेब्यु गरे । हङकङविरुद्दको खेलबाट उनले राष्ट्रिय टिममा पाइला चालेका हुन् ।
यसमा पनि रमाईलो खिस्सा छ ।
सुबासलाई एक्कासी पारसले फोन गरेर खेल्न बोलाए । क्याम्पमा महबुबसंगै अर्का एक खेलाडीले चोट बोकेका कारण सुबासलाई खेल्न बोलाइएको रहेछ ।
‘प्रारम्भिक ३५ जनाको क्याममा समेत नपरेको म एक दिन कलेज हिड्दै थिए । पारसले खेल्न आउन भन्दै फोन गर्नु भयो ।’ सुबासले भने, ‘१० औं स्थानमा ब्याटिङ गरेको खेलमा ३०—३५ रन बनाएको थिए । पुबुदु (सर) ले पहिलो पटक ब्याटिङ गर्न लगाउनुभएको थियो । त्यसपछि उहाँ मबाट प्रभावित हुनु भएछ । लगातार क्याम्पमा बोलाउनु भयो ।’
राष्ट्रिय टिमबाट क्रिकेट खेल्छु भनेर नसोचेका सुबासले अनुभबी खेलाडी महेष क्षेत्रीलाई विस्थापित गरे र प्रतियोगिता खेल्ने भए ।
‘झण्डै दशकदेखि राष्ट्रिय टिमबाट खेल्दै आएको खेलाडीलाई बिस्थापित गर्दै खेल्नु परेको चुनौती, घरेलु समर्थकको ठुलो सहभागिता र विश्वकप छनोटको पहिलो पाटो रहेका कारण निकै नर्भस थिए ।’ सुबास सम्झिन्छन् ।
अहिले देशको झण्डा छातीमा राखेर खेल्न पाउँदा सुबास निकै गर्व महसुस गर्छन् ।
भन्छन्, ‘सबैले देशको लागि खेल्ने मौका पाउदैनन् । करिब ३ करोड जनतामा केहि सिमित खेलाडीले यस्तो मौका पाउने गर्छन् । त्यो सिमित खेलाडीमा आफु हुन पाउँदा साह्रै गर्व महसुस हुन्छ, भाग्यमानी ठान्छु ।’
तर सुबासको खेल जीवनमा चोटनै सबैभन्दा तगारो बन्यो । चोटका कारण उनले थुप्रै खेल गुमाउनु पुगे ।
‘डिभिजन पाँच देखि विश्वकप सम्म राष्ट्रिय टोलीसंगै यात्रा गरेको छु । तर थुप्रै पटक चोटको कारण प्रतियोगिता गुमाउन पर्दा नरमाइलो लाग्छ ।’ सुबास दुखेसो पोख्छन्, ‘यति लामो समय राष्ट्रिय टिममा बिताएपनि एतिहासिक सफलता टिमसंग मनाउन नपाउँदा दुख लाग्छ ।’
‘नेपालले एकदिवसीय मान्यता पायो । सबै खेलाडी यसका हकदार हुन । पुराना खेलाडी र नयाँ युवा खेलाडीको यसमा ठुलो हात छ । तर चोटले गर्दा त्यो क्षणको हिस्सा बन्न नपाएकोमा दुख लाग्ने रहेछ ।’ सुबास भन्छन्, ‘तर नेपालले गरेको प्रगतिमा धेरै खुसी लाग्छ । गुनासो यत्ति हो, त्यो पलमा म पनि हुन पाएको भए भन्ने लाग्दो रहेछ ।’
सुबासले सन् २०१४ को विश्व टी–ट्वान्टीमा नेपालका लागि ओपनिङ गर्दै कीर्तिमान बनाएका थिए । अफगानिस्तानविरुद्द ५३ बलमा ५६ रन प्रहार गर्दै उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।
सुबासले विश्वकप नेपाल क्रिकेटको टर्निङ पोइन्टको रुपमा हेर्ने गर्छन् ।
‘विश्वकप भनेको ग्लोबल स्टेज हो । संसारका हरेक क्रिकेट प्रेमी र सरोकारवालाले नियाल्ने गर्छन् ।’ सुबासले भने, ‘सन्दीप र सोमपालले विदेशी फ्रेन्चाइज लिग खेल्न पाउनुमा विश्वकपको पनि ठुलो हात छ भन्ने लाग्छ । अहिले २ खेलाडीले विदेशी लिग खेलेका छन् भने पछाडी पक्कै थपिने छन् ।’
खुसीको क्षण
सन् २०१३ को विश्व क्रिकेट डिभिजन ३, बर्मुडामा भएको प्रतियोगितामा नेपालले लगातार २ खेलमा हार व्यहोर्यो । डिभिजन ३ जित्ने लक्ष्य लिएको नेपालको खराब प्रर्दशनसंगै सबैलाई लाग्यो, अब नेपाल डिभिजन ४ मा घटुवा हुने भयो ।
नेपालको नेट रनरेट राम्रो थिएन, न कुनै खेल जितेको थियो । अब बाँकी ३ खेलमा जित निकाल्ने विकल्पमात्र थियो । यस्तो अवस्थामा सबै खेलाडीको मनोबल घटेको थियो ।
‘दुई खेलमा पराजित भएपछि सम्भाबना सकियो भन्ने सोचेका थियौं ।’ सुबास भन्छन्, ‘तर हाम्रो देशलाई पशुपतिनाथको देश भन्छन्, उनै पशुपतिनाथको कृपाले अन्तत हामीले प्रतियोगितानै जित्न सफल भयौं ।’
नेपालले बाँकी ३ खेलमा उत्कृष्ट कमब्याक गर्दै फाइनल पुगेको थियो ।
फाइनलमा समेत उपाधि दाबेदार युगाण्डालाई ५ विकेटले पराजित गर्दै नेपाल विजेता बन्यो । र डिभिजन २ मा बढुवा भयो ।
सुबासलाई अफगानिस्तानविरुद्धको विश्वकप टी–ट्वान्टी खेल अविश्मरणीय लाग्छ ।
विश्वकपअघि सिंगापुरमा एक प्रतियोगिता खेल्दै गर्दा अफगानी खेलाडीले नेपाललाई नराम्रोसँग ‘डाइलग’ दिएका रहेछन् ।
‘हामी भन्दा पछि क्रिकेट खेल्न थालेको उनीहरुले हामीलाई हात अनुसारको बाउला सिलाउनु पर्छ भन्दै जिस्काएका थिए ।’ सुबास सम्झन्छन्, ‘त्यसले हामी सबैलाई निकै रिस उठेको थियो । त्यसको बदला हामीले विश्वकपमा लिन पाउँदा सबै खुसी थियौ ।’
पुबुदु प्रभाव
नेपाल डिभिजन ५ मा हुँदा राष्ट्रिय क्रिकेट टिम पुबुदु दासानायकेले सम्हाले । उनी घरेलु क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् ।
पुबुदुको आगमनसंगै मेहनत मात्र गरेर हुँदो रहेनछ भन्ने बिषय खेलाडीले बुझेको सुबास बताउँछन् ।
‘पुबुदु सर आएपछि मात्र नेपालले भिडियोबाट सिक्ने, बलिङमात्र गरेर विकेट आउँदैन भन्ने सिक्न पाए । कुन स्तिथीमा कसरी ब्याटिङ गर्ने, सबै कुरा पुबुदुले सिकाउनु भयो ।’ सुबास भन्छन्, ‘सर आउनु भन्दा पहिले क्रिकेटमा टेक्निकल एनालिसेस हुन्छ भन्ने नै थाहा थिएन ।’
‘उहाँको सिकाइले नै नेपाली क्रिकेट यो स्थानमा आएको हो ।’ उनले थपे, ‘सबै प्रशिक्षक राम्रो हुन्छन् तर मुख्य कुरा मान्छे पनि राम्रो हुनु पर्छ, जुन सबै गुण पुबुदु सरमा थियो । अरु प्रशिक्षक भन्दा उहाँ सधै दुई कदम अगाडी हुनुहुन्छ ।’
सबैका बाजे
सुबासको ‘निक नेम’ भने बाजे हो । कलेज पढ्ने बेला साह्रै सोझो देखेर सबै साथीले बाजे भन्ने गर्थे । उनको यो नाम भने पूर्व खेलाडी रोम श्रेष्ठले प्रख्यात गराएका हुन् ।
कलेज पढ्ने बेला स्थानीय प्रतियोगितामा भाग लिन रोमले टिम बनाउँदै थिए । सुबासले समेत खेल्ने ईच्छा राखे । फोनमा सुबासले परिचय दिए, रोमले चिनेनन् । सुबासले ‘म बाजे हो के’ भन्दै आफ्नो परिचय दिए । त्यसपछि सुबासलाई सबैले बाजे भनेर बोलाउन थाले ।
सुबासलाई अहिले पनि राष्ट्रिय खेलाडीले बाजे भनेरै बोलाउने गर्छन् ।
‘टिममा हुँदा धेरैले बाजे भनेर बोलाउने भएर होला कसैले सुबास भनेर बोलाए थाहानै पाउदिन ।’ सुबास मुस्कुराउँदै भन्छन्, ‘सुबास भनेर बोलाउँदा मलाई बोलाएको जस्तो नै लाग्दैन ।’
क्रिकेटमा थुप्रै सफलता हात पर्नु त बाँकी नै छ । तर उनी अहिलेसम्मको सफलताको श्रेय प्रशिक्षक पुबुदुलाई दिन्छन् ।
‘सम्पूर्ण श्रेय सुरुमा त पुबुदु सरलाई नै दिन्छु । उहाँले गर्दा नै यहाँसम्म आईपुगेको छु । पटक पटक क्याम्पमा पर्दा÷ नपर्दा पुबुदुले मलाई विश्वास गर्नु भयो र मैले प्रमाणित गर्ने मौका पाए ।’ सुबास थप्छन्, ‘त्यसपछि सबैको योगदान आउँछ, घर परिवार, साथी भाईले सहयोग नगरेको भए सबै सम्भव हुने थिएन ।’
नेपालले टेष्ट मान्यता पाएको हेर्ने सुबासको ईच्छा छ ।
‘सबैको सपना नेपालले टेष्ट मान्यता पाएक हेर्ने नै हो । त्यो मेरो पालामा सम्भब होला÷नहोला तर कम्तिमा नेपालले एक दिवसीयका लागि बारम्बार संघर्ष गर्नु नपरोस भन्ने छ । सबै प्रकिया पुरा गर्न सके त टेष्ट पाएको हेर्ने ईच्छा हो ।’ सुबासले भने ।
‘नेपाल क्रिकेट यहाँसम्म आउन मेरो केही हात होला तर पनि थप उपलब्धि हात पार्न केहि योगदान गर्न सकौं भन्ने छ । चाहे खेलाडीको रुपमा होस् वा खेल जीवनपछि अन्य भूमिकामा । नेपाली क्रिकेटलाई सधै मेरो माया रहनेछ ।’ सुबास थप्छन् ।