एजेन्सी । जिम्बावेविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले जित निकालेको छ ।
ढाकामा सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको हो ।
बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।
जिम्बावेका तिनासी स्टेफेनले सर्वाधिक २८ रन जोडे । कार्ल मुम्बाले २५ रन बनाए । यस्तै कप्तान सिन विलियम्स, रिचमोन्ड मुतुम्बामी र डोनाल्ड टिरिपानोले समान २०/२० रन जोडे ।
बंगलादेशका इमुनुल इस्लाम र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो ।
बंगलादेशका लागि सौम्य सरकारले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तमिम इकबालले ४१ रन जोड्दा मुस्फिकर रहिमले १७ रन बनाए । कप्तान ममुदउल्लाह १४ रनमा अविजित रहे ।
जिम्बावेका सिकन्दर राजा,क्रिस एमपुफु र वेस्ली माधिभेरेले एक एक विकेट लिए ।
जितसँगै बंगलादेशले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।