काठमाडौं । नेपाल क्लाइम्बिङ्ग संघले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीता जनाउने काम गदै आएको संघलाई स्पोर्ट क्लाइम्बिङ्गको अन्तराष्ट्रिय महासंघले पूर्ण सदस्यता प्रदान गरेको हो ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले लामो प्रक्रियापछि आफुहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी गराएको हो ।
संघका महासचिव मेघराज पौडेलले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेसंगै स्पोर्ट्स क्लाइम्बिङ्गको विकास, विस्तार र प्रबद्र्धनमा काम गर्न थप सहज हुने बताए ।
‘स्पोर्ट क्लाइम्बिङ्ग ओलम्पिकमा समेत सहभागी छ । अन्तराष्ट्रिय मान्यतासंगै यसको विकास र विस्तारमा काम गर्न सहज हुनेछ ।’ उनले भने ।
संघले आफु मातहत हाल ११ वटा जिल्ला संघहरु रहेको उल्लेख गर्दै करिब १६ सय २१ जना स्पोर्ट क्लाइम्बिङ्ग समुदायमा समेटिएको दाबी छ ।
स्पोर्ट क्लाइम्बिङ्गको अन्तराष्ट्रिय संस्था ईन्टरनेश्नल फेडेरेशन अफ स्पोटर््स क्लाइम्बिङ्ग (आईएफएससी)को पाँच महादेशमा ९१ वटा राष्ट्रिय संघहरु रहेका छन् ।
जसमा अफ्रिकामा ६, एसियामा २४, युरोपमा ४३, ओसियनामा ४, अमेरिकामा १६ संघ रहेका छन् । दक्षिण एसियामा अब नेपाल सहित भारत, पाकिस्तान र श्रीलंका रहेका छन् ।
स्पोर्ट क्लाइम्बिङ्गलाई सन् २०२० को टोकियो ओलम्पिक र पेरिस ओलम्पिकमा समेत समावेश गरिएको छ ।
महासचिव पौडेलले खेलको विकासका लागि राखेप, सरकार, अर्ध सरकारी निकाय, कर्पोरेट हाउस एवम निजी क्षेत्रसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
कार्यक्रम नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेसंगै क्लाइम्बिङ्गका गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
उनले ओलम्पिकमा समावेश क्लाइम्बिङ्गलाई ओलम्पिक कमिटिबाट मान्यता दिलाउन आफुले समेत पहल गर्ने बताए ।
‘ओलम्पिक कमिटिबाट संघलाई मान्यता दिने स्पष्ट विधि छैन । चुनावका बेलामा संघको मान्यताको कुरा धेरै उठ्ने गर्छ ।’ श्रेष्ठले भने, ‘संघले मान्यताका लागि निवेदन दिएको खण्डमा प्रक्रिया अघि बढाउने प्रयास गर्नेछु ।’