काठमाडौं । काठमाडौंकी सिन्डिरा जोशीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शनिबार चार चरणको खेल सकिँदा एकल अग्रता कायम गरेकी छन् । शत प्रतिशत जित निकालेकी सिन्डिराको ४ अंक छ ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटकी सुजना लोहनी र धनुषाकी स्नेहा यादव संयुक्त रुपमा दोश्रो स्थानमा छन् । दुवैको समान ३.५–३.५ अंक छ ।
समान ३–३ अंक जोडेका खेलाडीहरुमा मिसन युथ क्लबकी सन्तोषी विक, काठमाडौंका विनिता कपाली, मार्सल तामाङ र आभा पुडासैनी तथा रुकुमकी अन्जु शाह रहेका छन् ।
रौतहतकी विना जैशवाल, इलामी ज्योति लामिछाने, झापाकी कृतिसरा अधिकारी र मिसनकी पुर्णिमा गुरुङले समान २.५–२.५ अंक जोडेका छन् ।