काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
आयोजक ईपीएलले बिहिबार पत्रकार सम्मेलन गर्दै ईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी फैलदै गएपछि ईपीएल स्थगित गरिएको आयोजकले जनाएको छ ।
आयोजकले नेपाल सरकार, नेपाल क्रिकेट संघ, सहभागी टिम, प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगित गरेको जनाएको छ । नयाँ मिति कोरोना भाइरस नियन्त्रण भएपछि तय हुनेछ ।
'कोरोनाको त्रासले गर्दा अहिले ईपीएल स्थगित गरेका छौँ । यस स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्ने छौँ,' ईपीएलका एमडी आमिर अख्तरले पत्रकार सम्मेलनमा भने ।
यस अघि ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।
यस सिजन वेष्ट इण्डिजका क्रिस गेल,श्रीलंकाका उपुल थरंगा, केस्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो ।
यस्तै ईपीएलका एमडी अख्तरले नयाँ मितिमा अनुबन्ध भएका सबै खेलाडीले खेल्ने बताए ।
'नयाँ मिति कहिले आउँछ भन्ने अवस्था छैन तर आउने मितिमा पनि गेल लगायतका ठुला खेलाडीको सहभागिता रहनेछ,' उनले भने ।
यस सिजनको उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।
प्रेस विज्ञप्ति -