काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार (भोली) सिंगापुरको सामना गर्दैछ ।
बैंककमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान ८:१५ बजे सुरु हुनेछ ।
टेर्डथाई क्रिकेट मैदानमा नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । तर , निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ ।
एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ ।
३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।
हेड टु हेड -
नेपाल र सिंगापुर विभिन्न फर्म्याटको क्रिकेटमा ११ पटक भिडेका छन् । जसमा ३ खेल तीन दिवसीय, ४ टी-ट्वान्टी र ४ एकदिवसीय खेल रहेको छ ।
नेपालविरुद्ध सिंगापुरले २ टी-ट्वान्टी बाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।
पहिलो पटक नेपाल र सिंगापुर सन् २००४ को एसीसी फास्ट ट्र्याक कन्ट्री प्रतियोगिताको तीन दिवसीय खेलमा भएको थियो ।
नेपालले पहिलो इनिङ्समा २ सय ६० र दोस्रो इनिङ्समा २ सय ३ रन बनाएको थियो । सिंगापुरले पहिलो इनिङ्समा २ सय २७ र दोस्रो इनिङ्समा विना कुनै विकेट ८७ रन बनाउँदा खेल बराबरी भएको थियो ।
सन् २००५ को सोही प्रतियोगितामा समेत दुई राष्ट्रले बराबरी खेलेका थिए । नेपालले दुई इनिङसमा दिएको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले अन्तिम दिनसम्म न लक्ष्य पूरा गर्यो न नेपालले अलआउट पार्यो ।
सन् २००६ को सोही प्रतियोगितामा भने नेपालले जित हात पारेकाे थियाे । पहिलो इनिङ्समा ९ विकेट गुमाएर ३ सय १३ बनाएको नेपालले दोस्रो इनिङ्समा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएकाे थियो । सिंगापुर पहिलो इनिङ्समा ९० तथा दोस्रो इनिङ्समा १ सय ९६ मा अलआउट हुँदा नेपाल २ सय ५ रनले विजयी भएको थियो ।
सन् २००९ को एसीसी टी-ट्वान्टी कपमा सिंगापुरले दिएको ९० रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गरेका थियाे ।
सन् २०१० को डिभिजन ५ मा नेपालले सिंगापुरलाई १६ रनले पराजित गरेकाे थियाे । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछयाएको सिंगापुर ४७ ओभर ५ बलमा १ सय ६४ रनमा समेटियो ।
सन् २०१२ को डिभिजन ४ मा नेपालले ५ विकेटले विजयी भएको थियो । सिंगापुरले दिएको १ सय १२ रनको सामान्य लक्ष्य नेपालले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गरेकाे थियाे ।
सन् २०१४ को एसियन गेम्समा नेपालले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१ ओभर ४ बलमा मात्र ७३ रनमा समेटिएकाे थियो । जसमा नेपाल १ सय ९० रनले विजयी बनेकाे थियो ।
सन् २०१८ को एसिया कप छनोटमा नेपलले सिंगापुरले ४ विकेटले जित हात पारेकाे थियाे । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
सन् २०१८ मा नै नेपाल र सिंगापुर टी-ट्वान्टी विश्वकप एसिया पूर्वी क्षेत्रिय छनोटमा भेट भएको थियो ।
अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन बनाउँदा पानीले खेल प्रभावित भएको थियो ।
सन् २०१९ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा समेत दुई राष्ट्रको भेट भएको थियो । नेपाल माथि १५ वर्ष पछि सिंगापुर पहिलो पटक हाबी भएको थियो ।
दुवै राष्ट्रका लागि निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।
त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
त्यहिँ हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको थियो ।
सन् २०१९ मा सिंगापुरमा त्रिदिवसीय सिरिज खेल्न नेपाललाई आमन्त्रण गरेको थियो । पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले सहज जित निकाल्न सफल भएको थियो । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपाल ९ विकेटले विजयी भएको थियो ।
यस्तै सिंगापुरविरुद्धको दोस्रो खेल भने खराब मौषमका कारण रद्द भएको थियो ।