काठमाडौं । नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।
इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ । र, एसिया कप खेल्ने नेपालको सपना समेत सकिएको छ ।
अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।
अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४/४ अंक रहेको छ । नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ ।
शीर्ष स्थानमा रहेको सिंगापुर एक खेल अगाबै एसिया कप छनोटमा पुग्न सफल भएको छ । एसिया कप छनोटमा पुग्ने अर्को राष्ट्रको टुंगो भने शुक्रबार लाग्ने छ ।
मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
यस प्रतियोगिताको फाइनल पुग्ने टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो ।
तर, सुरुवाती दुई खेलमा लगातार हार व्यहोरेपछि नेपालको एसिया कप छनोट पुग्ने सपनामा धक्का लागेको थियो ।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा भने आयोजक थाइल्याण्डविरुद्ध ९ विकेटको कीर्तिमानी जित निकाल्दै नेपालले शीर्ष दुईमा रहने गणितीय सम्भावना कायम राखेको थियो ।
तर, हङकङलाई सिंगापुरले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।
अब नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ ।