एजेन्सी । १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पुरस्कार राशीमा ठुलो कटौती हुने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आउने संस्करणको पुरस्कार राशीमा ५० प्रतिशत कटौती गर्न लागेको भारतीय मिडियाहरुले जनाएको छ ।
भारतीय मिडियाका अनुसार बीसीसीआईले पुरस्कार रकम कटौतीबारे फ्रेन्चाइज टिमलाई समेत खबर गरिसकेको जनाएको छ ।
आईपीएलको पुरस्कार राशीमा कटौती भए उपाधि विजेता टिमले १० करोड भारतीय रुपैया प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको विजेताले २० करोड प्राप्त गरेको थियो ।
यस्तै उपविजेता हुने टिमले समेत ६ करोड २५ लाख प्राप्त गर्नेछन् । गत संस्करणको उपविजेताले १२ करोड ५० लाख प्राप्त गरेको थियो ।
पुरस्कार राशी कटौतीले धेरै टिमहरु निरास बनेका समेत बताईएको छ ।
फ्रेन्चाइज टिमहरुले स्पोन्सरहरुबाट राम्रो कमाइ गरेको भन्दै बीसीसीआईले उपाधि राशीमा कटौती गर्न लागेको जनाएको छ ।
'सबै फ्रेन्चाइजहरु राम्रो स्थितिमा छन्,' बीसीसीआईले भनेको छ, 'उनीहरुले थुप्रै तरिकाहरु जस्तै स्पोन्सरहरुबाट कमाइ गरेका छन् । त्यसैले उपाधि राशी कटौती गरिएको हो ।'
यस्तै आईपीएल आयोजना गर्ने हरेक प्रदेश क्रिकेट संघ र हरेक फ्रेन्चाइज टिमले ५० लाख सहयोग मात्र बीसीसीआईबाट पाउने छन् ।
बीसीसीआईका पदाधिकारीहरुले एसिया राष्ट्र जसमा हवाई उडान ८ घण्टा भन्दा कम लाग्नेको भ्रमण गर्दा बिजनेस क्लासको फ्लाइट टिकट समेत नपाउने जनाएको छ ।
सन् २०२० को आईपीएल मार्च २९ देखि सुरु हुँदैछ ।